राताम्य यात्रामा ब्रेकः मनोबल कमजोर हुँदा खुम्चिदै कारोबार, सरकारसँग किन त्रसित लगानीकर्ता ?

काठमाडौँ । शेयर बजार सामान्य सुधार देखिएको छ । लगातार चार दिन ओरालो लागेको बजार आज भने झिनो अकंले बढेको छ । तर, समग्रमा बजार सुस्त देखिएको छ । पछिल्ला दिनमा देखिएको निरन्तर गिरावटले बजारको सूचकांक मात्र कमजोर बनाएको छैन लगानीकर्ताको मनोबलसमेत गहिरो रूपमा प्रभावित भएको छ । उतारचढावबीच स्थायित्वको अपेक्षा गरिरहेका लगानीकर्ता अहिले बढ्दो अनिश्चितता र त्रासबीच कारोबार गर्न बाध्य देखिएका छन् । कारोबार रकम पनि उल्लेख्य रूपमा घट्दै जाँदा बजारको सुस्तता अझ प्रष्ट देखिएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटपछि सेयर बजारमा केही सकारात्मक लहर आउने अपेक्षा गरिएको थियो । तर व्यवहारमा भने त्यसको उल्टो परिणाम देखिएको छ । बजेट प्रस्तुत भएयता बजार निरन्तर दबाबमा रहँदै आएको छ भने सूचकांकले स्थायित्व लिन नसक्दा लगानीकर्ताको विश्वास कमजोर बन्दै गएको छ । नीतिगत सुधारले बजारलाई गति दिने अपेक्षा गरिए पनि तत्कालीन परिणामले भने निराशाजनक संकेत दिएको विश्लेषकहरूको भनाइ छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट र त्यसपछिका नीतिगत संकेतहरूले पनि बजारमा अपेक्षित स्थिरता दिन नसकेको लगानीकर्ताको बुझाइ छ । विशेषगरी पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा गरिएको परिवर्तनले प्रारम्भमा केही सकारात्मक अपेक्षा जगाए पनि करको सीमा, दर र कार्यान्वयनबारे स्पष्टता नहुँदा पुनः अनिश्चितता बढेको देखिन्छ । यही अस्पष्टताका कारण धेरै लगानीकर्ता सतर्क बन्दै सुरक्षित रणनीतितर्फ मोडिँदा बजारमा बिक्री चाप बढेको छ ।
बढ्दो बिक्री चापसँगै सेयर आपूर्ति उच्च हुँदा मूल्यमा निरन्तर गिरावट देखिएको छ । कर भार र नीतिगत जोखिमलाई ध्यानमा राख्दै लगानीकर्ताले नाफा सुरक्षित गर्ने रणनीति अपनाउँदा बजारमा दबाब थपिएको छ । साथै, नियामक निकायबाट हुने सम्भावित कडाइ र अनुसन्धानसम्बन्धी चर्चाले पनि बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ । ठूला र साना दुवै लगानीकर्ता समान रूपमा सावधानी अपनाउन थालेपछि कारोबारमा सुस्तता झनै बढेको छ ।
अहिले बजारको प्रमुख समस्या नीतिगत अस्पष्टता र विश्वासको अभावका रूपमा देखिएको छ । सरकारप्रति विश्वास कमजोर हुँदै जाँदा लगानीकर्तामा द्विविधा बढेको छ, जसले बजारको समग्र दिशालाई नै अनिश्चित बनाएको छ । यदि नीतिगत स्पष्टता र स्थिरता नआएमा बजारमा दबाब अझै लामो समय कायम रहने जोखिम रहेको विश्लेषकहरूको निष्कर्ष छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले बढेर २७२६.१७ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको ९२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ६ उपसूचक घटेका छन् भने ७ उपसूचकमा सुधार देखिएको हो । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । आज १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।













