अध्यक्ष कार्कीविरुद्ध उपमहासचिव दुलालको विद्रोह, साधारणसभाको निर्णय मिचिएको आरोप

२७ जेष्ठ २०८३, बुधबार १७:०२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का उपमहासचिव प्रकाशचन्द्र दुलालले संस्थाका अध्यक्ष गणेश कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले साधारणसभाको म्यान्डेट र संस्थाको विधानविपरीत निर्वाचन प्रक्रिया अघि बढाउन खोजिएको आरोप लगाएका छन्।

बुधबार जारी गरेको ध्यानाकर्षण पत्रमा दुलालले जेठ २९ गतेका लागि तय गरिएको साधारणसभाअघि संस्थालाई महासंघमा रूपान्तरण गर्ने पूर्वनिर्णय कार्यान्वयन नगरिएको भन्दै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

उनका अनुसार २०८० साल जेठ ३२ गते सम्पन्न इप्पानको २१औं साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। उक्त समितिले तयार पारेको प्रतिवेदनलाई २०८२ साल असार ३१ गते सम्पन्न २३औं साधारणसभाले सर्वसम्मत रूपमा पारित गर्दै संस्थालाई ६ महिनाभित्र महासंघको संरचनामा रूपान्तरण गर्ने निर्णय गरेको थियो।

दुलालले उक्त निर्णय कार्यान्वयन गर्ने अधिकार अध्यक्ष गणेश कार्कीलाई प्रदान गरिएको भए पनि हाल कार्यसमितिको बहुमतको आधारमा साधारणसभाको निर्णयलाई बेवास्ता गर्दै प्रत्यक्ष रूपमा निर्वाचनको मिति घोषणा गरिएको दाबी गरेका छन्।

अध्यक्ष कार्कीले जेठ २५ गते जारी गरेको प्रेस विज्ञप्तिमा २३औं साधारणसभाबाट पारित विधान कार्यान्वयन गर्न नसकिने निष्कर्षसहित २०८३ वैशाख ४ गतेको कार्यसमिति बैठकले निर्णय गरेको उल्लेख गरेका थिए। सोही विषयलाई लिएर दुलालले आपत्ति जनाउँदै साधारणसभाको सर्वोच्च निर्णयलाई कार्यसमितिको बैठकले खारेज गर्न नसक्ने बताएका छन्।

उनले साधारणसभाले पारित गरेको निर्णय कार्यान्वयन गर्नु नेतृत्वको नैतिक तथा कानुनी दायित्व भएको उल्लेख गर्दै त्यसलाई उपेक्षा गरेर गरिने कुनै पनि निर्णय वा गतिविधि वैधानिक नहुने जिकिर गरेका छन्। यस्ता कार्यले संस्थाको गरिमा, विश्वसनीयता र लोकतान्त्रिक अभ्यासमा समेत गम्भीर असर पर्ने उनको भनाइ छ।

दुलालले निकालेको विज्ञप्ति

इप्पान अध्यक्ष श्री गणेश कार्कीज्यूको प्रेस विज्ञप्तीका सम्बन्धमा गम्भिर ध्यानाकर्षण

ऊर्जा उत्पादकहरुको साझा छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालको २४औं वार्षिक साधारणभा यहि जेष्ठ २९ गते हुनगइरहेको छ । यो साधारणसभाको अजेण्डाहरुमा २३औं सधासारणभाबाट संस्थालाई महासंघ रुपान्तरणगर्ने विषयमा भएको निर्णय र संस्थाको विधान संसोधनको विषयसँगै कार्यसमितिको निर्वाचन समेत छ । हाल कायम संस्थाको कार्यसमितिले २१औं सधासारणभाबाट निर्वाचित भएर ३ वर्षे कार्यकालमा २३औं साधारण सभाबाट सर्वसम्मतिले पारित गरेको विधान संसोधनको निर्णयलाई कार्यान्वयन गरेर मात्र २४ साधारणसभामा कार्य समितिको निर्वाचन गर्नुपर्ने दायित्व भुलेर कार्यसमितिको बहुुमतको नाममा साधारण सभाको निर्णयलाई कार्यान्वयन नगर्ने कार्य भएकोले संस्थाको विधानत सो गर्न नमिल्ने भनि मैले मिति २०८३।०१।३१ को पत्र (इप्पानको दर्ता नं. ५५ (०८२।०८३)) मार्फत इप्पान कार्य समिमिा निवेदन पेश गरेको विषयलाई विषयान्तर गरि संस्थालाई वैधानिक तवरले अघि बढ्न गरिएको आग्रहलाई संस्थाका अध्यक्ष श्री गणेश कार्कीज्यूबाट मिति २०८३।०२।२५ गते जारी भएको प्रेस विज्ञप्तीको सन्दर्भमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

अध्यक्ष द्धारा जारि प्रेस विज्ञप्तीको अनुच्छेद २ मा २०८० साल जेष्ठ ३२ गते सम्पन्न इप्पानको २१औं वार्षिक साधारण सभाले श्री भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संसोधन तथा पुर्नलेखन समिति गठन भएको र सो समितिले २०८२ साल असार ३१ गते सम्पन्न संस्थाको २३औं साधारणसभा समक्ष निणयार्थ पेश भएको उल्लेख छ । र उक्त मस्यौदा विधान इप्पानको २३औं वार्षिक साधारण सभाले पारित गरेर सोको कायान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको विषय समेत उल्लेख छ । यस बिचमा साधारणसभाबाट पारित निर्णय कार्यान्वयन नगरि संस्थालाई नविकरण नगरि राखेर मिति २०८३ साल बैशाख ४ गते सम्पन्न २००औं कार्य समितिको बैठकले २३औं वार्षिक साधारणबाट पारित विधान कार्यान्वयन गर्न नसक्ने निर्णय गरेको समेत उल्लेख छ ।

यसरी साधारण सभाबाट पारित निर्णय कार्यसमितिको बैठकले काट्न मिल्दैन, साधारण सभाको अधिकार खोस्ने गरी कार्य समितिले मनोगत रुपमा निर्णय गरे कानुनीरुपमा अबैध हुन्छ भन्दै साधारण सभाले निर्णय कार्यान्वयन गर्न दिएको अख्तियारी अनुसारको जिम्मेवारी पूरा गर्ने नैतिक तथा कानुनी दायित्व अख्तियार प्राप्त व्यक्तिको हो भनेर राय व्यक्त गरेको आधारमा साधारणसभाको निर्वाचनलाई प्रवाभित गर्नेगरि आएको विज्ञप्ती प्रति मेरो आपत्ति रहेको छ । मेरो विचारमा जिम्मेवारी, अधिकार तथा अख्तियार प्रत्यायोजन गरिएको अधिकारीले काम नगर्नु साधारण सभाको र हरेक सदस्यको हक अधिकारको हनन् गर्नु हो।

इप्पानको २१औं र २३औं वार्षिक साधारणसभाको निर्णय यस्तो रहेको छः

मिति २०८०।०२।३२ मा सम्पन्न २१ औं साधारण सभाबाट विधान संसोधन/पुर्नलेखन गर्न र संस्थालाई बढी सहभागीतामूलकरप्रतिनिधlमूलक र उच्च मर्यादा कायम गरी नयाँ ढाँचामा लैजान विधान मस्यौदा गर्ने सम्बन्धमा भएको निर्णय बमोजिम यस संस्थाका सल्लाहकार श्री भानुभक्त पोखरेलज्यू संयोजक रहनु भएको ५ सदस्यीय विधान संसोधन तथा पुर्नलेखन मस्यौदा समितिले आफ्नो प्रतिवेदन २३औ| वार्षिक साधारण सभामा निर्णयार्थ पेश गरेको र उक्त प्रतिवेदन २३औं वार्षिक साधारण सभाको निर्णय नं. ६ को ६ (१) मा संयोजक श्री भानुभक्त पोखरेल समितिले तयार पारी पेश गर्नु भएको प्रतिवेदन सहितको मस्यौदा उपर छलफल गरी सर्वसम्मतlमा अनुमोदन गर्ने निर्णय गरेको ।

६ (२) मा हाल कायम विधान संसोधन गर्नु भन्दा यस संस्थालाई महासंघको स्वरुपमा उर्जा क्षेत्रमा कार्यरत सम्पूर्ण संस्थाहरुको छाता संगठन बनाउने गरी ६ महिनाभित्र महासंघमा परिणत गर्ने र त्यसको १ वर्षभित्र नयाँ महासंघको अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको ।

निर्णय नं. ६ (३) ले निर्णय नं. ६ (१) र ६ (२) लाई सम्पन्न गर्न संस्थाका अध्यक्ष श्री गणेश कार्कीज्यूलाई जिम्मेवारी दिने निर्णय भएको ।

यसरी अध्यक्षज्यूलाई एक साधारण सभाबाट दिइएको जिम्मेवारी पूरा नगरी अधिवेसन बोलाउने कार्य नैतिक मात्र नभएर कानुनीरुपमा नै अप्ठेरो विषय हो भने सम्पूर्ण कार्यसमिति सदस्यहरुले समर्थनगर्नु गैह्रकानुनी हो ।

मेरो बुझाइमा साधारण सभाबाट पारित निर्णय कार्यसमितिको बैठकले काट्न मिल्दैन, वार्षिक साधारण सभाबाट उक्त पारित निर्णयलाई सम्बोधन गरी कार्यसमितिको सम्बन्धमा विधान संशोधन गरेर मात्र अधिवेशन गर्न वाञ्छनीय हुन्छ ।

उक्त प्रेस विज्ञप्ती अनुच्छेद ३ मा २०८३ साल जेष्ठ २५ गते सम्पन्न २०३औं बैठकले इप्पान बिधान २०७८ लाई संसोधन गरी आगामी २०८३ साल जेष्ठ २९ गते हुने २४ औं वार्षिक साधारण सभाका लागि बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाको अन्त्यगर्ने र विधान संसोधन भएपश्चात एक कार्याकाल कार्य समितिमा रहेको विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्ष उम्मेदवार हुनपाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव पारित गरे सँगै सबैलाई चुनावी प्रक्रियामा सहभागी भई २४औं वार्षिक साधारण सभासफल बनाउने निर्णय भएको समेत जानकारी दिइएको छ ।

यसका सम्वन्धमा संस्थाको २१ औ वार्षिक साधारण सभामा नै इप्पान बिधान २०७८ मा कार्यसमिति सम्बन्धी भएका व्यवस्थाहरुको संसोधन गर्न ठूलो मतले आवाज उठीसके पछि संस्थाको मिति २०८०।०२।३२ मा सम्पन्न उक्त साधारण सभाबाट विधान संसोधन/पुर्नलेखन गर्न र संस्थालाई बढी सहभागीतामूलक/प्रतिनिधिमूलक र उच्च मर्यादा कायम गरी नयाँ ढाँचामा लैजान विधान मस्यौदा गर्ने सम्बन्धमा भएको निर्णय बमोजिम यस संस्थाका सल्लाहकार श्री भानुभक्त पोखरेलज्यू संयोजक रहनु भएको ५ सदस्यीय विधान संसोधन तथा पुर्नलेखन मस्यौदा समिति गठन भएको र उक्त समितिको प्रतिवेदनले प्रचलित विधान संसोधन गर्न लाग्नुभन्दा छाता संगठनको रुपमा महासंघमा रुपान्तरण गर्ने सम्बन्धमा बिस्तृत प्रतिवेदन पेश गरी २०८३ असार ३१ मा सम्पन्न २३औं वार्षिक साधारण सभाले अनुमोदन गरिसकेपछि, उक्त निर्णयलाई साधारण सभाले सम्बोधन गरेर मात्र कार्यसमितिको निर्वाचन गर्न वैधानिक हुन्छ ।

प्रेस विज्ञप्ती अनुच्छेद ३ मा २०८३ साल बैशाख ४ गते सम्पन्न बैठकले सर्वसम्मतबाट आगामी २४औं साधारण सभा एवं आठौं अधिवेसन गर्ने निर्णय कार्य समितिले गरेको तथा समितिले विधान मस्यौदाबारे सबै व्यक्तिहरु (छलफलको क्रममा औपचारिकरुपमा १५ जना) ले दिएको सुझाव सहितको पोखरेल संयोजकत्वको विधान संसोधन तथा पुर्नलेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा संस्थाकै इप्पानकै उपमहासचिव रहनु भएका श्री प्रकाशचन्द्र दुलालले सार्वजनिक रुपमा विधान गायव भएको, विधान विपरित साधारण सभा आयोजना गर्न लागिएको जस्ता अनर्गल र कपोकल्पित प्रचार गरेकोले यस संस्थाप्रति उक्त कार्यले नकरात्मक संदेश जाने भएकाले सोको घोर भर्त्सना गर्दै इप्पान विधानको परिपालनामा गम्भिर भएको समेत भनिएको छ ।

तर विज्ञप्तीमा नै विधान समतिको समितिको मस्यौदा विधानर र प्रतिवेदन सुरक्षित छ भन्नुले २३औं साधारण सभाबाट विधान पारित भएको स्विकारेको अवस्थामा उक्त विधान तथा प्रतिवेदन कार्यान्वयनमा नगरी पुनः विधान संशोधगर्ने प्रस्ताव २४औं वार्षिक साधारण सभामा पेशगर्न लागिएको भन्नेबाट यो प्रष्ट हुन्छ कि, उक्त विधान जानाजान कार्यन्वयन नगर्न विधान नै पारित नभएको तर्क बैठकमा गरिएको तर संस्था सदस्यहरुले विधान कार्यन्वयन नभएको विषयमा आवाज उठाए पश्चात मात्र विधान पारित भएर सुरक्षित रहेको तर कार्यान्वयन नगरिएको स्विकार छ ।

इप्पान ऊर्जा उद्यमीहरुको साझा संस्था हो । संस्थामा साधारणसभाले पारित गरेको निर्णय कार्यान्वयनको आवाज उठाउनु सबैको दायित्व हो । पारित निर्णयहरु कर्यान्वयन गरेर संस्थागत शुसाशन कायम गर्नाले मात्रै संस्थाको उचाई बढ्नेछ र समाजमा संस्थाको सकरात्मक सन्देश जानेछ ।

प्रकाश चन्द्र दुलाल
उपमहासचिव
इप्पान

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*