धितो मूल्याङ्कन अब झन् सहज, बैंकहरूले ‘मेरो कित्ता’ बाटै नक्सा र फिल्डबुक लिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब जग्गासम्बन्धी आवश्यक कागजात प्राप्त गर्न नापी कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने व्यवस्था अन्त्य भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था लागू गर्दै बैंक तथा वित्तीय संस्थालाई नापी विभागको ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्रै सेवा लिन निर्देशन दिएको हो।
केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै एकीकृत निर्देशन, २०८२ मा नयाँ व्यवस्था समावेश गरेको जनाएको छ। जारी परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुक, प्लट रजिष्टरलगायत नापी कार्यालयबाट उपलब्ध हुने सेवाहरू प्राप्त गर्न अनिवार्य रूपमा मेरो कित्ता प्रणालीको प्रयोग गर्नुपर्नेछ।
यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले उक्त प्रणालीमा संस्थागत प्रयोगकर्ताका रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार यो निर्देशन तत्काल प्रभावबाट लागू भएको छ र अब नापी कार्यालयबाट उपलब्ध हुने सम्बन्धित सेवाहरू डिजिटल माध्यमबाट मात्रै सम्पादन गर्नुपर्नेछ।
यसअघि यस्ता कागजात प्राप्त गर्न तथा सम्बन्धित राजस्व भुक्तानी गर्न बैंकहरूलाई नापी कार्यालय पुग्नुपर्ने वा विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थासँगै बैंकहरूले अनलाइन माध्यमबाटै आवश्यक राजस्व भुक्तानी गरी सम्बन्धित कागजात प्राप्त तथा प्रिन्ट गर्न सक्नेछन्।














