कर परीक्षणमा तानिए ८ कम्पनी, कागजात नबुझाए एकतर्फी कर निर्धारण हुने

काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर र तुलसीपुरले आर्थिक वर्ष २०७८/७९ को कारोबारसम्बन्धी कर परीक्षणका लागि छनोट भएका आठ कम्पनीलाई आवश्यक कागजात पेस गर्न अन्तिम चेतावनी दिएका छन्। कार्यालयहरूले तोकिएको अवधिभित्र कागजात उपलब्ध नगराए उपलब्ध तथ्य तथा सूचनाका आधारमा एकतर्फी रूपमा कर निर्धारण गरिने जनाएका छन्।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका अनुसार आमिनुल इन्टरप्राइजेज, एन.जी.एस ट्रेडर्स र लिलामी बजार प्रालि कर परीक्षणका लागि छनोटमा परेका छन्। कार्यालयले ती करदातासँग पटक–पटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेको तथा केहीले सूचना बुझेपछि पनि आवश्यक कागजात पेस नगरेको जनाएको छ।
आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार सूचना जारी गर्दै कार्यालयले सम्बन्धित कम्पनीलाई १५ दिनभित्र सम्पूर्ण कारोबारसम्बन्धी कागजात पेस गर्न निर्देशन दिएको छ। कार्यालयले तोकिएको समयभित्र कागजात पेस नभए उपलब्ध तथ्याङ्क तथा सूचनाका आधारमा कर निर्धारण प्रक्रिया अगाडि बढाइने स्पष्ट पारेको छ।
यस्तै, आन्तरिक राजस्व कार्यालय तुलसीपुरले पनि आर्थिक वर्ष २०७८/७९ को कारोबार परीक्षणका लागि छनोट भएका पाँच कम्पनीलाई आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ। कार्यालयका अनुसार माइलस्टोन बिल्डर्स, देवकोटा सप्लायर्स, गुराँस इन्टरप्राइजेज, शान्दार निर्माण सेवा र सौरभ इन्टरप्राइजेज कर परीक्षणका लागि छनोट भएका कम्पनी हुन्।












