बजारमा गिरावटको श्रृंखलाः फाइनान्स लगानीकर्ता डुबे, किन त्रसित छ अवस्था ?

काठमाडौँ । पछिल्ला दिनमा लगातार गिरावटको दबाब खेपिरहेको शेयर बजारमा हिजो झिनो सुधार देखिए पनि त्यो एक दिनमै फेरि ओरालो लागेको छ । चार दिनसम्मको लगातार गिरावटपछि देखिएको सुधार टिक्न नसक्दा बजार पुनः दबाबमा गएको हो । सूचकांक मात्र होइन समग्र कारोबार गतिविधि पनि सुस्तिँदै जाँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ । बजारमा बढ्दो अनिश्चितताबीच लगानीकर्ता अझै पनि सतर्क अवस्थामा कारोबार गर्न बाध्य छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेटपछि बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा भने त्यसको उल्टो प्रभाव देखिँदै आएको छ । बजेटपछि पनि बजारले स्थायित्व लिन नसक्दा लगानीकर्ताको विश्वास क्रमशः कमजोर बन्दै गएको छ । नीतिगत सुधारले बजारलाई गति दिने अनुमान भए पनि तत्कालीन परिणामले निराशाजनक संकेत दिएको विश्लेषकहरूको भनाइ छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटपछि देखिएका नीतिगत संकेतहरूले पनि बजारमा अपेक्षित स्थिरता दिन नसकेको लगानीकर्ताको बुझाइ छ । विशेषगरी पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा देखिएको अस्पष्टताले प्रारम्भमा केही सकारात्मक अपेक्षा जगाए पनि करको दर, सीमा र कार्यान्वयनबारे स्पष्टता नहुँदा पुनः अनिश्चितता बढेको छ । यही कारण धेरै लगानीकर्ता जोखिम घटाउने रणनीतिमा लाग्दा बिक्री चाप बढिरहेको छ ।
बढ्दो बिक्री चापसँगै सेयर आपूर्ति उच्च हुँदा बजार मूल्यमा निरन्तर दबाब देखिएको छ । करको भार र नीतिगत जोखिमलाई ध्यानमा राख्दै लगानीकर्ताले नाफा सुरक्षित गर्ने रणनीति अपनाउँदा बजार अझै कमजोर बनेको छ । साथै, नियामक निकायबाट हुन सक्ने सम्भावित कडाइ र अनुसन्धानसम्बन्धी चर्चाले पनि बजारमा मनोवैज्ञानिक दबाब थपेको छ । ठूला र साना दुवै लगानीकर्ता सतर्क बनेपछि कारोबारमा उल्लेख्य गिरावट आएको छ ।
सरकारप्रति बढ्दो अविश्वासका कारण लगानीकर्तामा द्विविधा बढ्दै गएको छ, जसले समग्र बजारको दिशा नै अनिश्चित बनाइदिएको छ । यदि स्पष्ट नीतिगत स्थिरता कायम हुन नसकेमा बजारमा दबाब लामो समयसम्म कायम रहने जोखिम रहेको विश्लेषकहरूको निष्कर्ष छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अकंले बढेर २७२८.०३ बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ९२ करोड ३१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको ०.५१ प्रतिशत, वाणिज्य बैंक समूहको ०.२५ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बिहिबार ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।













