जगदम्बा स्टिल्स कर्जा दुरुपयोग प्रकरणमा साहिल र दीपक भट्टसहित चारजनाविरुद्ध मुद्दा दायर

२८ जेष्ठ २०८३, बिहीबार १८:१९

काठमाडौँ । जगदम्बा स्टिल्स लिमिटेडले विभिन्न बैंकहरूबाट व्यवसायिक प्रयोजनका लागि लिएको कर्जा व्यक्तिगत स्वार्थ तथा सेयर लगानीमा दुरुपयोग गरेको आरोपमा उद्योगी साहिल अग्रवाल र व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध उच्च अदालत पाटनको वाणिज्य इजलासमा मुद्दा दायर गरिएको छ।

सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा जगदम्बा स्टिल्सका अध्यक्ष साहिल अग्रवाल, खाता सञ्चालकहरू सुलभ अग्रवाल र शंकरलाल अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्टलाई प्रतिवादी बनाइएको छ।

उनीहरूमाथि ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गर्दै बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाहीको माग गरिएको छ। अभियोगपत्रमा बिगो असुल गरी सोही बराबर जरिवाना तथा ६ देखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ। साथै शंकरलाल अग्रवाललाई मतियारको रूपमा मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय माग गरिएको छ।

यस प्रकरणमा सम्पत्ति शुद्धीकरणको समेत आशङ्का गरिएको छ। प्रतिवादी दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत छुट्टै अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख छ। हाल साहिल अग्रवाल र शंकरलाल अग्रवाल फरार रहेकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।

नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंक लगायतबाट चालु पूँजी कर्जा लिएको देखिएको छ।

उद्योगको कच्चा पदार्थ खरिद र दैनिक सञ्चालनका लागि लिइएको उक्त कर्जा रकमलाई नक्कली जग्गा खरिदको बैना देखाएर दीपक भट्टको व्यक्तिगत खातामा पठाइएको अनुसन्धानबाट खुलेको छ। सो रकम पछि भट्टको एकल स्वामित्वमा रहेको इन्फिनिटी होल्डिङ्समा सारिएको र त्यहाँबाट हिमालयन रि–इन्सुरेन्स लिमिटेडको संस्थापक सेयर खरिदमा प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*