काठमाडौँ विमानस्थलमा ३१ लाख रुपैयाँसहित दुई बंगलादेशी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका दुई बंगलादेशी नागरिक करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रासहित पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार दिउँसो १ बजे बाटिक एयरको उडान नम्बर ओडी–१८३ मार्फत काठमाडौँबाट मलेसियाको क्वालालम्पुर जान लागेका यात्रुको जाँचका क्रममा उक्त रकम बरामद गरिएको हो ।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अली र ५० वर्षीय एमडी जाकिर होस्साइन रहेका छन् । उनीहरूले सुटकेसभित्र फल्स बटम बनाएर नगद लुकाई लैजान खोजेको अवस्थामा ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा रकम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोहम्मद इन्ताज अलीबाट १० लाख २५ हजार रुपैयाँ र एमडी जाकिर होस्साइनबाट १२ लाख ३४ हजार रुपैयाँसहित एक हजार अमेरिकी डलर र २० हजार मलेसियन रिङ्गिट बरामद गरिएको छ । बरामद सम्पूर्ण मुद्राको नेपाली मूल्य ३१ लाख ५१ हजार रुपैयाँ बराबर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।












