मर्जर प्रस्तावसहित नाडेप लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको जेठ २८ गते साँझ साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ।
साधारणसभा असार २२ गते सोमबार धादिङ जिल्लाको नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि बस्नेगरी आह्वान गरिएको छ। यसका लागि असार ११ गते एक दिन बूक क्लोज गरिने भएकाले सोभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।
सभाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम शेयर संरचना परिवर्तन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने, गाभ्ने/गाभिने वा एक्विजिसन (प्राप्ति) (मर्जर) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सोका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
त्यसैगरी सञ्चालक समितिको तर्फबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितका गत आर्थिक वर्षसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिम तयार गरिएको वार्षिक वित्तीय प्रतिवेदन छलफल गरी पारित गरिनेछ।
त्यस्तै लेखापरीक्षण समितिको सिफारिस बमोजिम चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, समूह ‘क’ संस्थापक शेयरधनीहरू मध्येबाट ४ जना र समूह ‘ख’ सर्वसाधारण शेयरधनीहरू मध्येबाट १ जना सञ्चालकको बाँकी कार्यकालका लागि नियुक्त गर्ने र उल्लेखित प्रस्तावहरू उपर नियमनकारी निकायबाट फरेबदल गर्न सुझाव वा निर्देशन भएमा सोही अनुरूप कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गरिने एजेण्डा रहेको छ।












