शेयर बजारमा त्रासः सूचकसँग खुम्चिदै कारोबार, यी कारण घट्दै छ मार्केट!

काठमाडौं । नेपालको शेयर बजारमा पछिल्लो समय देखिएको ओरालो यात्राले लगानीकर्ता र बजार विश्लेषक दुवैलाई चिन्तित बनाएको छ । सूचकांक मात्र नभई दैनिक कारोबार रकम र समग्र बजार गतिविधि समेत सुस्तिँदै गएपछि बजारमा निराशाजनक माहोल गहिरिँदै गएको छ । बढ्दो अनिश्चितताबीच लगानीकर्ताहरू जोखिम न्यूनीकरणमा केन्द्रित हुँदा बजारको गति थप कमजोर बनेको देखिन्छ ।
आर्थिक वर्ष २०८३÷८४ को बजेटपछि शेयर बजारमा केही सकारात्मक ऊर्जा देखिने अपेक्षा गरिएको थियो । नीतिगत सुधार र कर व्यवस्थामा स्पष्टता आउँदा बजारमा स्थायित्व आउने अनुमान भए पनि व्यवहारमा भने त्यसको उल्टो प्रभाव देखिएको छ । बजेटपछि पनि बजारले स्थायित्व लिन नसक्दा लगानीकर्ताको विश्वास क्रमशः कमजोर बन्दै गएको छ भने नयाँ लगानी भित्रिने गति पनि सुस्तिएको छ ।
विशेषगरी पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा देखिएको अस्पष्टताले बजारमा अनिश्चितता थपेको छ । करको दर, सीमा र कार्यान्वयन प्रक्रियाबारे स्पष्टता नहुँदा प्रारम्भमा बनेको सकारात्मक अपेक्षा फेरि कमजोर बनेको लगानीकर्ताको गुनासो छ । यही अवस्थाका कारण धेरै लगानीकर्ताले जोखिम घटाउने रणनीति अपनाउँदै नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा बिक्री चाप बढिरहेको छ, जसले मूल्यमा निरन्तर दबाब सिर्जना गरेको छ ।
बढ्दो बिक्री चापसँगै सेयर आपूर्ति उच्च भएपछि बजारमा गिरावट थप गहिरिँदै गएको छ । करको भारसँगै नीतिगत जोखिमको त्रासले लगानीकर्तालाई सतर्क बनाएको छ भने नियामक निकायबाट हुन सक्ने सम्भावित कडाइ र अनुसन्धानसम्बन्धी चर्चाले पनि बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ । ठूला तथा साना दुवै लगानीकर्ता सतर्क अवस्थामा रहँदा कारोबार रकममा उल्लेख्य गिरावट आएको देखिन्छ ।
यस्तै, पछिल्लो समय ठूला व्यवसायी पक्राउ परेसँगै बजारमा थप नकारात्मक मनोबल फैलिएको छ । यसले लगानीकर्तामा असुरक्षा र द्विविधा बढाएको छ भने समग्र बजारको दिशा नै अनिश्चित बनाइदिएको छ । विश्लेषकहरूले स्पष्ट नीतिगत स्थिरता, पारदर्शी कर व्यवस्था र लगानीमैत्री वातावरण कायम हुन नसकेमा बजारमा दबाब लामो समयसम्म कायम रहने चेतावनी दिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले घटेर २७२४.०३ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ९८ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३२ करोडको कारोबार भएको हो ।
यसदिन ४ उपसूचकमा सुधार देखिएको छ भने ९ उपसूचक राताम्य देखिएको हो ।
आज ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













