डुबानको जोखिममा काठमाडौंका १२८ स्थान, वडा १४ सबैभन्दा संवेदनशील

काठमाडौं । यस वर्षको मनसुनमा काठमाडौं महानगरपालिकाले १२८ स्थानमा डुबानको जोखिम रहेको पहिचान गरेको छ। महानगरको अनुमानअनुसार सम्भावित डुबानबाट करिब ८ हजार ३१५ परिवार प्रभावित हुन सक्छन्। जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरपालिकाले मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरिसकेको छ।
महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार बागमती र विष्णुमती नदीको दोभान क्षेत्र तथा तल्लो भूभागमा पर्ने वडा नम्बर १४ सबैभन्दा बढी जोखिममा रहेको छ। उनका अनुसार वडा नम्बर १४ सँगै वडा नम्बर १३, १५, २९, १०, १६, २६, ३२ र १२ पनि उच्च जोखिममा रहेका छन्।
डुबान हुने स्थानको आधारमा वडा नम्बर ३० मा सबैभन्दा धेरै २१ स्थान जोखिमयुक्त रहेको पहिचान गरिएको छ। त्यसैगरी वडा नम्बर ४ र ३२ मा १०–१० स्थानमा डुबानको जोखिम देखिएको विभागले जनाएको छ।
प्रभावित परिवारको हिसाबले भने वडा नम्बर १६ सबैभन्दा संवेदनशील देखिएको छ। सामाखुशी, विष्णुमती तथा अन्य खहरे खोलाहरूका कारण यस वडामा करिब एक हजार ६०० परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै वडा नम्बर २६ मा एक हजार २५५, वडा नम्बर ४ मा ९५५ र वडा नम्बर ३ मा ९५० परिवार प्रभावित हुन सक्ने आकलन गरिएको छ।
महानगरले तयार पारेको पूर्वतयारी कार्ययोजनामा वडास्तरीय विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सुरक्षा निकाय, दमकल, एम्बुलेन्स, स्वास्थ्य सेवा तथा अन्य आकस्मिक सेवासँग सम्बन्धित अधिकारीहरूको सम्पर्क विवरण अद्यावधिक राखिएको छ। साथै उपलब्ध स्रोतसाधन र उपकरणहरूको विवरणसमेत समेटिएको विभागले जनाएको छ।
विपद्का समयमा उद्धार, राहत, व्यवस्थापन तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन महानगरका ११ वटा विभागलाई स्पष्ट जिम्मेवारी तोकिएको छ। यसका साथै आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने ५१ वटा पार्क, २८ वटा खुला क्षेत्र तथा ८७ वटा विद्यालयलाई सुरक्षित आश्रयस्थलका रूपमा पहिचान गरिएको छ।
अघिल्ला वर्षहरूमा अविरल वर्षाका कारण काठमाडौंमा बाढी तथा डुबानबाट सहरी जीवन प्रभावित भएको अनुभवलाई मध्यनजर गर्दै महानगरले यस वर्ष जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ। नदी सरसफाइ, ढल तथा पानी निकास व्यवस्थापन र डुबान प्रभावित क्षेत्रको सुधारका कार्यक्रम सञ्चालन भइरहेका छन्।
कामपाकी कार्यवाहक प्रमुख तथा विपद् व्यवस्थापन समितिकी संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणका आधारमा मनसुनपूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको हो। विभागले यस वर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्म मनसुन सक्रिय रहने अनुमान गरेको छ।
डङ्गोलले सम्भावित डुबानको जोखिम न्यूनीकरणका लागि पूर्वाधार मर्मत, सरसफाइ तथा तयारीका काम नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएकी छन्। साथै सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै विपद्का समयमा ठेगाना प्रणालीका कारण कुनै प्रकारको अलमल नहुने अवस्था सुनिश्चित गर्न समेत उनले सम्बन्धित विभागलाई निर्देशन दिएकी छन्।












