ब्लू इनर्जीमा गरिएको १५ करोड लगानीको श्रोत के?

३१ जेष्ठ २०८३, आईतवार १३:३३

काठमाडौं । पाँचतारे याक एन्ड यति होटलले जलविद्युत् कम्पनी ब्लू इनर्जी लिमिटेडमा गरेको १५ करोड रुपैयाँको लगानीको स्रोतबारे प्रश्न उठ्न थालेको छ। होटलको लेखापरीक्षण प्रतिवेदनमा ब्लु इनर्जीको १५ लाख कित्ता शेयर खरिद गरिएको उल्लेख भए पनि उक्त रकमको स्रोत नखुलेपछि प्रश्न उठेको हो।

प्रतिवेदनअनुसार होटलले १५ करोड रुपैयाँ बराबरको इक्विटी लगानी गरेको देखिन्छ। तर उक्त रकम होटलको आफ्नै आम्दानीबाट आएको हो वा सम्बन्धित पक्ष तथा निर्देशकहरू भारतीय नागरिक रहेका अरुण सर्राफ, उमेश सर्राफ वा रत्ना सर्राफबाट प्राप्त रकम प्रयोग गरिएको हो भन्ने विषय खुलाइएको छैन। यही कारण लगानीको वास्तविक स्रोतबारे चासो बढेको छ।

विदेशी लगानी भएको कुनै कम्पनीले अर्को नेपाली कम्पनीमा लगानी गर्दा आवश्यक कानुनी प्रक्रिया, नियामकीय स्वीकृति तथा बैंकिङ प्रणालीको पालना गर्नुपर्ने र रकम विदेशबाट आएको हो भने त्यसको स्पष्ट बैंकिङ अभिलेख र सम्बन्धित निकायको अनुमति आवश्यक हुन्छ।

याक एन्ड यति होटलको वित्तीय विवरणमा लगानीको उल्लेख भए पनि त्यससँग सम्बन्धित स्वीकृति, स्रोत वा सम्भावित कानुनी जोखिमबारे विस्तृत विवरण सार्वजनिक नभएकाले लेखापरीक्षण प्रक्रियामाथि समेत प्रश्न उठेको छ।

ब्लू इनर्जी लिमिटेडको लगानी संरचना र वित्तीय पक्षबारे विभिन्न निकायको चासो बढिरहेका बेला याक एन्ड यतिको १५ करोड रुपैयाँको लगानी पनि थप अनुसन्धानको विषय बन्न सक्ने देखिएको छ। उक्त रकमको वास्तविक स्रोत, लगानी प्रक्रिया र कानुनी वैधानिकताबारे प्रश्न उठ्न थालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*