ट्रकको ठक्करबाट सशस्त्रका सहायक हवल्दारको मृत्यु, अर्का जवान सहित चालक घाइते

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने अर्का एकजना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन्।
मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेल रहेका छन्। फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कँडेलको उपचारको क्रममा मृत्यु भएको हो।
शनिबार बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका २ वटा भैंसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौरा घर भएका अन्दाजी ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपक कुमार जंग शाह घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँकेमा रिफर गरिएको छ।
त्यसैगरी ट्रक चालक मकवानपुर बाग्मती गाउँपालिका–५ समरी बस्ने अन्दाजी ४० वर्षीय निरञ्जद दर्जी पनि घाइते भएका छन्। उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।












