भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग, सूर्योदयका ५३ उद्योग बन्द गर्ने घोषणा

काठमाडौँ । भारतले नेपाली चियामाथि कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। भारततर्फ निर्यात हुने तयारी चिया लामो समयदेखि अलपत्र परेपछि भण्डारण क्षमता सकिएको र नियमित कारोबार ठप्प भएपछि उद्योगीहरूले सञ्चालन रोक्ने निर्णय गरेका हुन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालमा आबद्ध ५३ उद्योगले आगामी असार १ गतेदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। एसोसिएसनका अनुसार भारतको विभिन्न परीक्षण प्रक्रिया र ढिलाइका कारण तीन लाख किलोभन्दा बढी नेपाली चिया भारतीय बजारमै रोकिएको छ भने उद्योगहरूमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। गोदाम भरिएपछि नयाँ उत्पादन राख्ने ठाउँ नभएपछि दैनिक प्रशोधन प्रक्रिया नै रोक्नुपर्ने अवस्था आएको उद्योगीहरूले जनाएका छन्।
उद्योगीहरूको भनाइअनुसार किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन नसक्दा आर्थिक चक्र प्रभावित भएको छ। उत्पादन बिक्री नहुँदा पनि किसानको भुक्तानी रोक्न नसक्ने बाध्यताले उद्योगहरू थप आर्थिक दबाबमा परेका छन्, जसले सञ्चालन नै असम्भव बनाएको अवस्था सिर्जना भएको छ।
भारतले सन् २०२६ मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ अनुसार प्रत्येक ढुवानीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन लामो समय लाग्ने र प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भएमा चिया नष्ट वा फिर्ता गर्नुपर्ने प्रावधानले निर्यात प्रक्रियालाई थप जटिल बनाएको व्यवसायीहरूको भनाइ छ।
यसैबीच भारतीय बजारमा पुगेका नेपाली चिया कन्साइनमेन्टहरू कोलकाता लगायतका गोदाममा रोकिएर नमूना परीक्षणका लागि प्रतीक्षामा रहेको र लामो समयसम्म प्रतिवेदन नआउँदा कारोबार पूर्ण रूपमा अवरुद्ध भएको उद्योगीहरूको दाबी छ। ढुवानीपछि गोदाममै थन्किँदा चियाको गुणस्तरमा समेत असर पर्ने जोखिम बढेको उनीहरूको चिन्ता छ।
सूर्योदय नगर क्षेत्रमा मात्रै करिब तीन हजार किसान चिया खेतीमा निर्भर छन्। यहाँ ठूलो क्षेत्रफलमा अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ र वार्षिक रूपमा करोडौँ किलो हरियोपत्ती संकलन हुन्छ। उद्योग बन्द भएपछि यसै क्षेत्रमा आश्रित हजारौँ किसानको आम्दानी ठप्प हुने र उनीहरूको रोजीरोटीमा प्रत्यक्ष असर पर्ने देखिएको छ। किसानहरूले बजार नहुँदा उत्पादन बेच्न नपाउने अवस्था आएपछि भविष्य अनिश्चित बनेको बताएका छन्।
नगरपालिकाले समेत चिया निर्यातमा देखिएको अवरोध हटाउन संघीय सरकारमार्फत उच्चस्तरीय कूटनीतिक पहल आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएको छ। भारततर्फ रहेका नेपाली चियाका ढुवानीहरू लामो समयदेखि परीक्षण र प्रतिवेदनको प्रतीक्षामा रहँदा निर्यात प्रक्रिया पूर्ण रूपमा रोकिएको अवस्थाले ठूलो आर्थिक क्षति हुने जोखिम बढाएको स्थानीय तहको मूल्याङ्कन छ।












