सवारी दर्ता खुला गर्ने बागमती प्रदेश सरकारको घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत साना सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया खुला गर्ने घोषणा गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आवश्यकताका आधारमा साना सार्वजनिक सवारी साधन दर्ता खुला गरिने जानकारी दिएका हुन्।
सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) र ब्लूबुकसम्बन्धी सेवाका लागि कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्ने नीति पनि लिएको छ। बजेटमा नागरिक एपमार्फत यी सेवा अनलाइन प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख गरिएको छ। सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यअनुसार सेवाग्राहीले आफ्ना कागजात तथा सेवाको अवस्थाबारे जानकारी अनलाइनमै प्राप्त गर्न सक्ने व्यवस्था गरिने जनाइएको छ।
सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नियमित यान्त्रिकीकरणको व्यवस्था गरिने तथा त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गरिने सरकारले जनाएको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै चालकको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने र सडक सुरक्षा सचेतना अभियानलाई प्रभावकारी बनाइने बजेटमा उल्लेख छ। यसबाट सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बागमती प्रदेश सरकारले श्रम तथा रोजगारी क्षेत्रलाई पनि बजेटमा प्राथमिकता दिएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली नागरिकको शव स्वदेश ल्याउने प्रक्रियालाई सहज बनाउन आवश्यक सहजीकरण गरिने जनाइएको छ। साथै श्रम व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रदेशका सबै स्थानीय तहमा श्रमिक दर्ता केन्द्र स्थापना गरिनेछ।












