गण्डकी प्रदेशको ३३ अर्बको बजेट, पुँजीगत खर्च ६० प्रतिशतभन्दा बढी (पूर्णपाठसहित)

काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जितबहादुर शेरचनले कुल बजेटमध्ये पुँजीगत शीर्षकमा ६० प्रतिशतभन्दा बढी विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालू खर्चतर्फ १२ अर्ब ७२ करोड ३६ लाख ७८ हजार रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत बजेट छुट्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले प्रस्तुत गरेको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ अर्ब रुपैयाँले बढी हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । यस वर्ष चालू खर्च गत वर्षको तुलनामा १ प्रतिशतले घटाइएको सरकारको दाबी छ । संघ सरकारले निर्धारण गरेकै आधारमा कर्मचारीको तलब वृद्धि हुने पनि अर्थमन्त्री शेरचनले बताए ।
बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै राजस्व बाँडफाँडबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ र रोयल्टी बाँडफाँडबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
यसैगरी सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेशले आन्तरिक स्रोतबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षको २ अर्ब रुपैयाँ मौज्दात रहने र आगामी वर्षका लागि १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरिने अर्थमन्त्री शेरचनले जानकारी दिए ।












