ग्राहकको रोजाइमा बजाज मोटरसाइकलः ९ महिनामै १६ अर्ब ४६ करोडको व्यापार, पल्सर सर्वाधिक बिक्री

काठमाडौँ । नेपाली अटो बजारमा बजाज ब्रान्डका मोटरसाइकलको माग निरन्तर बढ्दै गएको देखिएको छ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमै १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो ।
कम्पनीको व्यापार वृद्धिको प्रवृत्ति पछिल्ला वर्षहरूमा निरन्तर देखिँदै आएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीले १५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर चालु आर्थिक वर्षको नौ महिनामै उक्त वार्षिक व्यापारलाई समेत उछिनेर १६ अर्ब ४६ करोड रुपैयाँको कारोबार गर्न सफल भएको हो । त्यसअघि आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीले १० अर्ब ६७ करोड ४० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ७६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीको कुल आम्दानीमा सबैभन्दा ठूलो हिस्सा यसको सर्वाधिक बिक्री हुने मोडेल पल्सरले ओगटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा मात्र पल्सर ब्रान्डले करिब ५९ प्रतिशत आम्दानी योगदान गरेको देखिएको छ । बजाज ब्रान्डका मोटरसाइकलहरू विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बनेसँगै बजार हिस्सा थप मजबुत बन्दै गएको कम्पनीको तथ्यांकले देखाउँछ ।
यसै अवधिमा कम्पनीले आफ्नो उत्पादन दायरा विस्तार गर्दै नयाँ मोडेलहरू पनि बजारमा ल्याएको छ । ट्राइम्फ मोटरसाइकल तथा चेतक इलेक्ट्रिक स्कुटर जस्ता नयाँ उत्पादनहरूले कम्पनीको पोर्टफोलियो विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । साथै, कम्पनीले हालै सर्भो लुब्रिकेन्ट ब्लेन्डिङ युनिटमा समेत प्रवेश गरेको छ जसले भविष्यमा आम्दानीका स्रोतहरूलाई थप विविधीकरण गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि कम्पनीको आम्दानी निरन्तर बढे पनि यसको सञ्चालन नाफा मार्जिन भने क्रमशः खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९/०८० मा ६ दशमलव ३ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८०/०८१ मा ५ दशमलव ७ प्रतिशतमा झरेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा यो अझ घटेर ४ दशमलव २ प्रतिशतमा सीमित भएको छ भने चालु आर्थिक वर्षको नौ महिनामा पनि सोही स्तर कायम रहेको देखिन्छ ।
कम्पनीको वित्तीय संरचना हेर्दा कुल ऋण र मूर्त खुद सम्पत्तिबीचको अनुपात आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा समान रूपमा १ गुणा रहेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा यो अनुपात घटेर ० दशमलव ९ गुणामा पुगेको भए पनि चालु आर्थिक वर्षको नौ महिनामा पुनः वृद्धि भएर १ दशमलव १ गुणा पुगेको छ ।
त्यसैगरी कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिबीचको अनुपात आर्थिक वर्ष २०७९/०८० मा १ दशमलव ३ गुणा रहेकोमा आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा १ दशमलव २ गुणामा सीमित भएको थियो । तर चालु आर्थिक वर्षको नौ महिनामा यो अनुपात बढेर १ दशमलव ४ गुणामा पुगेको देखिन्छ । सञ्चालन नाफाको तुलनामा कुल ऋणको अनुपात पनि स्थिर रूपमा उच्च रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा यो ५ दशमलव ७ गुणा रहेकोमा आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा ५ दशमलव ६ गुणामा सीमित थियो । तर चालु आर्थिक वर्षको नौ महिनामा पुनः बढेर ५ दशमलव ७ गुणा पुगेको छ ।

तर कम्पनीको ऋण तिर्न सक्ने क्षमता भने उल्लेखनीय रूपमा सुधार भएको देखिन्छ । ब्याज भुक्तानी क्षमताको सूचक आर्थिक वर्ष २०७९/०८० मा १ दशमलव ४ गुणा रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा १ दशमलव ८ गुणा पुगेको थियो । त्यसपछि आर्थिक वर्ष २०८१/०८२ मा यो २ दशमलव ३ गुणामा सुधार हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ४ गुणासम्म पुगेको छ ।
त्यस्तै ऋण सेवा क्षमताको सूचक पनि क्रमशः मजबुत बन्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा १ दशमलव ६ गुणा रहेको यो सूचक आर्थिक वर्ष २०८०/०८१ मा २ दशमलव १ गुणा र २०८१/०८२ मा २ दशमलव ६ गुणा पुगेको थियो । चालु आर्थिक वर्षको नौ महिनामा भने यो ३ दशमलव ७ गुणा पुगेको छ । कार्यशील पूँजीको अवस्था भने क्रमशः घट्दो क्रममा देखिएको छ । सञ्चालन आम्दानीको अनुपातमा खुद कार्यशील पूँजी आर्थिक वर्ष २०७९/०८० मा ४६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा ४१ प्रतिशतमा झरेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा यो ३० प्रतिशतमा सीमित भएको छ भने चालु आर्थिक वर्षको नौ महिनामा पनि सोही ३० प्रतिशतकै स्तरमा कायम रहेको छ ।
नेपालमा दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको बिक्री तथा वितरण क्षेत्रमा लामो इतिहास बोकेको हंसराज हुलासचन्द एण्ड कम्पनीले पछिल्ला वर्षहरूमा आफ्नो व्यापारिक पहुँचलाई अझ विस्तार गर्दै गएको छ । सन् १९५९ मा स्थापना भएको यो कम्पनी हाल नेपालका लागि बजाज ब्रान्डका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन, केटिएम ब्रान्डका मोटरसाइकल, ट्रायम्फ ब्रान्डका मोटरसाइकल तथा सर्वो लुब्रिकेन्ट्सको आधिकारिक विक्रेताका रूपमा कार्यरत छ ।
कम्पनीको मुख्यालय मोरङको विराटनगरमा दर्ता रहेको छ । देशभर ३०० भन्दा बढी बिक्री केन्द्र, आधिकारिक सेवा केन्द्र तथा क्षेत्रीय डिलरमार्फत कम्पनीले आफ्ना उत्पादन तथा सेवाहरू उपलब्ध गराउँदै आएको छ । यस व्यापक वितरण सञ्जालका कारण कम्पनीले नेपालको लगभग सबै भूभागमा आफ्नो उपस्थिति मजबुत बनाएको छ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्छा समूह अन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । उत्पादनमूलक तथा व्यापारिक क्षेत्रमा लामो अनुभव बोकेको गोल्छा समूहको स्वामित्व विभिन्न परिवार सदस्यहरूबीच बाँडिएको छ । कम्पनीको अध्यक्ष शेखर गोल्छाको करिब ५३ दशमलव ८ प्रतिशत हिस्सा रहेको छ भने अन्य शेयरधनीहरूको व्यक्तिगत हिस्सा ३ दशमलव ७५ प्रतिशत वा सोभन्दा कम रहेको बताइएको छ ।
बजाज एसेम्बल गर्ने हुलास अटोक्राफ्टको व्यापार ९ अर्ब ५२ करोड
तयारी अवस्थाको पाट्र्स आयात गरी नेपालमा एसेम्बल गरी तयारी मोटरसाइकल बिक्री गर्ने हुलास अटोक्राफ्ट कम्पनीको आम्दानीमा समेत सुधार भएको छ । बजाज कम्पनीको पल्सरसहितका मोटरसाइकलको बिक्री उच्च दरमा बढेकोले उद्योगको आम्दानी समेतमा सुधार देखिएको हो । उक्त कम्पनीमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत शेयर रहेको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ९ अर्ब ५२ करोड २४ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले यसअघि २०८१।०८२ मा ९ अर्ब १२ करोड, २०८०।०८१ मा ५ अर्ब १३ करोड र २०७९।०८० मा ५ अर्ब ६१ करोडको व्यापार गरेको थियो ।

प्रख्यात व्यापारिक घराना गोल्छा अर्गनाइजेसन जसले नेपालमा विभिन्न उत्पादन तथा व्यापारिक क्षेत्रमा काम गरिरहेको छ । सन् २०१३ मा स्थापित हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेड प्राइभेट लिमिटेड (एचएसी) बजाजको आधिकारिक एसेम्बलिङ इकाई हो । कम्पनीले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन बनाउँदै आइरहेको छ । नेपालका लागि ती उत्पादनहरूको आधिकारिक वितरक हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड हो । कम्पनीको कार्यालय काठमाडौँको गणबहालमा रहेको छ । कम्पनीले भैरहवा भन्सारबाट अनएसेम्बल्ड मोटरसाइकलका साथै अनेकौं किसिमको विभिन्न सामग्री पनि आयात गर्दै आएको पाइएको छ ।
पछिल्लो समय कम्पनीका पल्सर ब्राण्डका फरक फरक १० प्रकारका बाइक बिक्री गर्दै आएको छ । त्यस्तै, डोमिनार ब्राण्डका तीन थरी बाइक बिक्री गर्दै आएको छ भने डिस्कभर ब्राण्डका तीन थरी, प्लाटिना ब्राण्डका एक थरी, एभेन्जर ब्राण्डका दुई थरी मोटरसाइकल बिक्री गर्दै आएको छ । त्यस्तै, बजाज रि नामक अटो र बजाज मेक्सिमा कार्गो भ्यान समेत बिक्री गर्दै आएको छ ।












