निर्यात संकटले थलियो चिया उद्योगः इलामका ५६ उद्योग पूर्ण रूपमा बन्द

काठमाडौँ । सोमबारदेखि इलामका ५६ वटा चिया उद्योग पूर्ण रूपमा बन्द भएका छन्। भारतीय बजारमा नेपाली चियाको निर्यातमा देखिएको अवरोध, गुणस्तर परीक्षणका नाममा भइरहेको ढिलाइ र अनिश्चितताका कारण उत्पादित चिया बिक्री हुन नसकेपछि उद्योगीहरूले उद्योग नै बन्द गर्ने निर्णय गरेका हुन्।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार इलामका सबै ५६ उद्योग बन्द गरिएको छ भने बुधबारदेखि झापाका ३० वटा चिया उद्योग पनि बन्द गर्ने तयारी छ। उनका अनुसार निर्यात अवरुद्ध भएपछि चिया गोदाममै थन्किन थालेको र ठूलो परिमाणमा उत्पादन कुहिने जोखिम बढेपछि यस्तो कठोर निर्णय लिनुपरेको हो।
उद्योगी, किसान र मजदुरहरूका अनुसार भारतले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) अन्तर्गत अनिवार्य प्रयोगशाला परीक्षणका कारण निर्यात प्रक्रिया झनै जटिल बनेको छ। परीक्षण प्रक्रिया अपारदर्शी भएको र समयमै नतिजा नआउँदा नेपाली चिया भारतीय बजारमा प्रवेश गर्न नसकेको उनीहरूको आरोप छ।
पराजुलीका अनुसार करिब दुई लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाममै रोकिएको छ भने नेपालभित्रै पनि १० लाख किलोभन्दा बढी चिया बिक्री नहुँदा उद्योगमै कुहिने अवस्था सिर्जना भएको छ। यहाँ उत्पादित चियाको करिब ९० प्रतिशत बजार भारत भएकाले निर्यात रोकिएपछि समग्र उद्योग संकटमा परेको छ।
इलाम र झापामा मात्रै वार्षिक करिब ६५ लाख किलो र दुई करोड किलो चिया उत्पादन हुन्छ। यी क्षेत्रमा एक लाखभन्दा बढी मजदुर र किसानका करिब ३० हजार घरपरिवार प्रत्यक्ष रूपमा जोडिएका छन्। निर्यात अवरोध लामो समयसम्म जारी रहे रोजगारी र आम्दानीमा गम्भीर असर पर्ने चिन्ता उद्योगीहरूले व्यक्त गरेका छन्।
यसैबीच, सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएसनले पनि विज्ञप्ति जारी गर्दै सूर्योदय नगरपालिका क्षेत्रभित्रका सबै अर्थोडक्स चिया उद्योग बन्द गर्ने घोषणा गरेको छ। विज्ञप्तिमा पछिल्ला वर्षदेखि निर्यातमा समस्या बढ्दै आएको र भारतीय चिया बोर्डले नयाँ एसओपी लागू गरेपछि अवस्था अझ जटिल बनेको उल्लेख छ।
गत वैशाख १८ पछि नयाँ व्यवस्था लागू भएपछि करिब २१ दिनसम्म निर्यात पूर्ण रूपमा ठप्प भएको थियो। त्यसयता पनि निर्यात सहज हुन नसक्दा उद्योगहरू थप संकटमा परेका हुन्। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म नेपालले ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ११ हजार ४ सय टन चिया निर्यात गरेको छ। गत वर्ष भने ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ६ सय टन चिया निर्यात भएको थियो।












