२० कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, सातदिने स्पष्टीकरण माग

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।
विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सम्बन्धित कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा किन नराख्ने भन्ने आधार र प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न यसअघि नै समय दिइएको थियो। तर तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभएपछि पुनः ७ दिनभित्र स्पष्टीकरण दिनुपर्ने भन्दै नयाँ सूचना जारी गरिएको हो।
पुनः सूचना जारी गरिएका कम्पनी तथा निर्माण सेवामध्ये उग्रवज्र निर्माण सेवा (काठमाडौं), अर्बान कन्स्ट्रक्सन (चितवन), शंकरमाली निर्माण सेवा प्रालि (काठमाडौं) लगायतका रहेका छन्।
सडक डिभिजन काठमाडौं, जुम्ला, कालिका नगरपालिका, फिक्कल गाउँपालिका, पूर्वाधार विकास कार्यालय लमजुङलगायतका निकायले सिफारिस गरेका निर्माण कम्पनी तथा ठेकेदारहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको सूचनामा उल्लेख छ।












