सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोड बजेट प्रस्तुत, कृषि-पर्यटन र पूर्वाधारलाई प्राथमिकता

२ असार २०८३, मंगलवार १४:१३

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् । उनले कृषि र पर्यटनसँगै पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट ल्याइएको जानकारी दिएका छन् । साथै, कर्मचारीको तलब भत्ता १० प्रतिशतले वृद्धि गर्ने घोषणा पनि बजेटमा गरिएको छ ।

सत्तारुढ दलहरूबीचको आन्तरिक विवादका कारण बजेट मध्यरातमा प्रस्तुत गरिएको बताइएको छ । बजेटमा मन्त्रालयगत विवरण भने समावेश नगरिएको उल्लेख छ ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।

यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानअन्तर्गत ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड रुपैयाँ पनि स्रोतका रूपमा उल्लेख गरिएको छ ।

यसैगरी ससर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ तथा विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा समावेश गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*