‘शेयर बजारको लगानी बालुवामा पानि’: हैरानीमा लगानीकर्ता, अझै किन छ खतरा ?

२ असार २०८३, मंगलवार १५:०४

काठमाडौं । शेयर बजार राताम्य अवस्थामा छ । शेयर लगानीकर्ताले खर्बौं रकम गुमाइरहेका छन् । पछिल्ला दिनमा नेपालको बजार निरन्तर राताम्य बन्दै जाँदा लगानीकर्तामा गहिरो निराशा छाएको छ । बजार सूचकांक लगातार ओरालो लाग्दै जाँदा लगानी बालुवामा पानि जस्तै भइरहेको छ । दैनिक कारोबार रकममा आएको गिरावटले समेत बजारमा उत्साह हराउँदै गएको स्पष्ट संकेत दिएको छ । लगानीकर्ताहरू अहिले ठूलो तनाव र अनिश्चितताको अवस्थामा देखिएका छन् ।

बालेन शाह नेतृत्वको सरकार गठनपछि बजारमा केही सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको थियो । तर, अपेक्षाअनुसार बजारमा सुधार नआएपछि लगानीकर्ताको भरोसा कमजोर बन्दै गएको छ । सरकार र नियामक निकायहरूले विभिन्न नीतिगत तथा प्राविधिक सुधारका प्रयास गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन नसक्दा स्थायित्व कायम हुन सकेको छैन ।

विशेषगरी ठूला लगानीकर्ताहरू क्रमशः बजारबाट बाहिरिने प्रवृत्तिले दबाब झनै बढाएको छ । जोखिम बढेको महसुस गर्दै धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गर्दा आपूर्ति बढेको छ, जसले मूल्यमा थप गिरावट ल्याएको छ । यसले बजारलाई अस्थिर बनाउँदै दीर्घकालीन लगानीभन्दा छोटो अवधिको नाफा केन्द्रित प्रवृत्तिलाई प्रोत्साहन गरेको देखिन्छ ।

यता, नीतिगत अस्पष्टता र करसम्बन्धी अनिश्चितताले पनि बजारमा नकारात्मक प्रभाव पारेको छ । विशेषगरी पुँजीगत लाभकरको दर, सीमा र कार्यान्वयन प्रक्रियाबारे स्पष्टता नहुँदा लगानीकर्तामा अन्योल बढेको छ । यसले नयाँ लगानी भित्रिने गति सुस्त बनाएको मात्र होइन विद्यमान लगानीकर्ताले समेत जोखिम व्यवस्थापनमा बढी ध्यान दिन थालेका छन् ।

त्यसैगरी, नियामक निकायहरूको कडाइ र अनुसन्धानसम्बन्धी गतिविधिले पनि बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ । केही ठूला व्यवसायीमाथि भएको अनुसन्धान र कारबाहीपछि लगानीकर्तामा असुरक्षाको भावना बढेको देखिन्छ, जसले कारोबार रकममा थप गिरावट ल्याएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३१ अकंले घटेर २७०५.४५ बिन्दुमा कायम भएको छ । आज ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।

११ उपसूचक राताम्य भएका छन् भने २ उपसूचकमा मात्रै सामान्य सुधार देखिएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*