एभरेष्ट बैंकको डबल ए रेटिङ पुनः पुष्टि, सुदृढ वित्तीय अवस्था र स्थिर प्रदर्शन कायम

काठमाडौँ । एभरेष्ट बैंकको दीर्घकालीन वित्तीय सुदृढता, स्थिर कार्यक्षमता र विश्वसनीय भुक्तानी क्षमताको आधारमा केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई प्रदान गर्दै आएको जारीकर्ता स्तरको ‘केयर–एनपी डबल ए (आइएस)’ रेटिङलाई पुनः पुष्टि गरेको छ। उक्त रेटिङ उच्च स्तरको सुरक्षायुक्त श्रेणीमा पर्ने मानिन्छ जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च भरोसा रहेको जनाउँछ र यस्तो स्तरका संस्थामा न्यून कर्जा जोखिम रहने निष्कर्ष निकालिन्छ।
रेटिङ पुनः पुष्टि गर्ने क्रममा बैंकको लामो सञ्चालन इतिहास, संस्थागत लगानीकर्ताको बलियो समर्थनसहितको प्रमुख प्रवर्द्धक समूह र अनुभवी तथा परिपक्व व्यवस्थापन टोलीलाई प्रमुख आधारका रूपमा लिइएको छ। बैंकको पुँजी संरचना पनि २०८३ बैशाख मध्यसम्म सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरिएको छ जसलाई बलियो नाफा क्षमताले टेवा दिएको छ। यो नाफा क्षमताले नियामकीय आवश्यकताहरू पूरा गर्न मात्र नभई आगामी कर्जा विस्तार योजनालाई समेत सहज रूपमा समर्थन गर्ने अपेक्षा गरिएको छ।
बैंकको सम्पत्ति गुणस्तर प्रतिस्पर्धी बैंकहरूको तुलनामा निरन्तर रूपमा राम्रो देखिएको तथ्यलाई पनि रेटिङमा विशेष रूपमा समेटिएको छ। खराब कर्जाको शुद्ध अनुपात नेट वर्थको तुलनामा न्यून रहेकोले बैंकको समग्र सोल्भेन्सी स्थिति मजबुत रहेको निष्कर्ष निकालिएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षित वित्तीय विवरण तथा २०८२/८३ को पछिल्ला नौ महिनाको अपरीक्षित वित्तीय प्रदर्शनले बैंकको आम्दानी र नाफा दुवै सन्तोषजनक अवस्थामा रहेको देखाएको छ।
तरलता स्थिति पनि सहज रहेको, देशभर फैलिएको शाखा सञ्जालमार्फत भौगोलिक पहुँच बलियो रहेको तथा निक्षेप संरचनामा चालु खाता र बचत खाताको हिस्सा बढ्दै गएको कारण कोषको लागत तुलनात्मक रूपमा कम हुँदै गएको विषयलाई पनि सकारात्मक पक्षका रूपमा मूल्याङ्कन गरिएको छ। यसले बैंकको समग्र सञ्चालन दक्षता सुधार हुँदै गएको संकेत गरेको छ।
आगामी दिनमा बैंकले आफ्नो सम्पत्ति गुणस्तर कायम राख्दै व्यवसाय विस्तारलाई सन्तुलित रूपमा अघि बढाउन सक्ने क्षमता, न्यूनतम नियामकीय आवश्यकताभन्दा पर्याप्त पुँजी बफर कायम राख्न सक्ने अवस्था तथा नेपाल राष्ट्र बैंकले गर्ने सम्भावित नीतिगत परिवर्तनलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता नै यसको रेटिङ स्थायित्वका प्रमुख निर्धारक हुने उल्लेख गरिएको छ।
बैंकको स्थापना सन् १९९४ अक्टोबर १६ मा भएको थियो र नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा सञ्चालन गर्ने अनुमति सन् २००६ अप्रिल २६ मा प्राप्त गरेको हो। यो बैंक पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा सञ्चालन हुन्छ, जसमा पञ्जाब नेशनल बैंकको २०.०२ प्रतिशत सेयर स्वामित्व रहेको छ। साथै, एभरेस्ट बैंक र पञ्जाब नेशनल बैंकबीच प्राविधिक सेवा सम्झौता पनि रहेको छ जुन प्रत्येक पाँच वर्षमा नवीकरण गरिन्छ र पछिल्लो पटक सन् २०२१ नोभेम्बरमा नवीकरण गरिएको थियो। बैंकको कुल सम्पत्ति सन् २०२६ अप्रिल १३ सम्ममा करिब ३७८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।












