११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन

काठमाडौँ । संघीय सरकारले चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार सरकारले चालू आर्थिक वर्षभरिमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ११ महिनाको अवधिमा सो लक्ष्यको ७३.०६ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा ११ महिनामा ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७४.०३ प्रतिशत हो ।
त्यस्तै गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ६४.७३ प्रतिशत हो ।
अनुदानतर्फ भने ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ लक्ष्य राखिएकोमा २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ४२.८२ प्रतिशत हो ।












