१० वटा सहकारी खारेज गर्दै कोशी सरकार

काठमाडौं । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले विभिन्न १० वटा सहकारी संस्थालाई खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
कार्यालयका अनुसार तोकिएको समयमा विवरण अद्यावधिक नगरेका तथा स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको पाइएका सहकारी संस्थाहरूलाई प्रदेश सहकारी ऐन, २०७६ (संशोधनसहित) को दफा ७३ बमोजिम खारेजी प्रक्रिया अघि बढाइएको हो।
खारेजी निर्णय अघि सम्बन्धित संस्थाहरूलाई आफ्नो पक्षमा सफाइ पेश गर्न १५ दिनको समय दिइएको कार्यालयले जनाएको छ। तोकिएको अवधिभित्र सम्पर्कमा नआए वा चित्तबुझ्दो स्पष्टीकरण पेश नगरे कानुनअनुसार खारेजी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ।
खारेजी प्रक्रियामा परेका संस्थाहरूमा मोफसल प्रकाशन सहकारी संस्था, कोशेली बचत तथा ऋण सहकारी संस्था, नवजागरण बहुउद्देश्यीय सहकारी संस्था, युवा कृषि सहकारी संस्था, नीलकण्ठ कृषि सहकारी संस्था, आरोग्य स्वास्थ्य सेवा (अस्पताल) सहकारी संस्था, जब्दो महिला कृषक बचत तथा ऋण सहकारी संस्था, आदर्श कृषि सहकारी संस्था, तीनकुने महिला बचत तथा ऋण सहकारी संस्था लगायतका संस्था रहेका छन्।
कार्यालयले पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित संस्थाहरूले विवरण अद्यावधिक नगरेको र अनुगमनका क्रममा अधिकांश संस्था सञ्चालनमै नरहेको देखिएपछि खारेजी प्रक्रिया अघि बढाउनुपरेको जनाएको छ।












