निजी क्षेत्रलाई अर्थमन्त्री डा. वाग्लेले भने, ‘माग्न पायो भन्दैमा केराको बोक्रा समेत नमाग्नू’

३ असार २०८३, बुधबार १७:२८

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई माग्न पाए भन्दैमा केराको बोक्रा समेत नमाग्नु आग्रह गरेका छन्। चेम्बरको आयोजनामा ‘आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

छलफलका क्रममा व्यवसायीहरूले बजेट आउन लागेको जस्तो गरी विभिन्न मागहरू प्रस्तुत गरेको उल्लेख गर्दै उनले निजी क्षेत्रले सीमित र स्पष्ट माग राखे सरकारले त्यसको सम्बोधन गर्न सहज हुने बताए। ‘तपाईंहरूका जम्मा ३०/४० वटा माग हुने रहेछन्। त्यसमध्ये २० वटा पूरा गरिदिएपछि फेरि २० वटा थपिहाल्नुहुने रहेछ’ उनले भने, ‘त्यस्तो होइन। स्पष्ट पाँच वटा प्राथमिकताका माग दिनुहोस् हामी पूरा गर्छौं। पहिलाको जस्तो सरकार छैन आवश्यक र जायज मागहरू सम्बोधन हुन्छन्। माग्न पायो भन्दैमा केराको बोक्रा समेत नमाग्नु।’

अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै सरकारले निजी क्षेत्रमैत्री नीतिलाई प्राथमिकता दिएको बताए। ‘निजी क्षेत्रलाई अगाडि नबढाएसम्म अर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्ने हाम्रो स्पष्ट सिद्धान्त हो’ उनले भने, ‘राजस्व बढाउन करको दर घटाएर दायरा विस्तार गर्ने नीतिमा सरकार अघि बढिरहेको छ।’

उनले कर प्रशासन तथा राजस्व व्यवस्थापनमा सुधारका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको जानकारी दिए। बक्यौता तथा कर विवादका विषयमा समेत सरकारले समाधानमुखी कदम चालेको उल्लेख गर्दै अदालतमा विचाराधीन राजस्वसम्बन्धी मुद्दाका हकमा तोकिएको रकमको एक प्रतिशत बुझाएर नयाँ आर्थिक गतिविधि सञ्चालन गर्न पाउने व्यवस्था गरिएको बताए।

‘यो निजी क्षेत्रलाई दिएको ठूलो सहुलियत हो’ उनले भने, \कतिपयले कर लागिसकेको छैन तर मर्कामा परिसक्यौं भन्नुहुन्छ। सरकारले सबैलाई राजस्वको दायरामा ल्याउने प्रयास गरिरहेको छ। बजेटमार्फत थिति बसाउने काम गरिएको छ।’

अर्थमन्त्री वाग्लेले पछिल्ला डेढदेखि दुई दशकको अवधिमा मुलुकमा गम्भीर आर्थिक अनियमितता र गलत अभ्यासहरू भएको दाबी गर्दै त्यस्ता गतिविधिमा संलग्नहरूलाई उन्मुक्ति नदिइने स्पष्ट पारे। ‘ठूलो बदमासी भएको हो, आँखा चिम्लिएर उन्मुक्ति दिन सकिँदैन’ उनले भने, ‘पछिल्लो १५/२० वर्षमा ठूला गल्ती भएका छन्। पहिलाजस्तो बिचौलिया र राजनीतिक पहुँचका आधारमा काम हुने अवस्था अब रहने छैन। विगतमा पहुँचका भरमा काम हुने गरेको थियो, तर यो सरकारले त्यसलाई सुधार गर्ने प्रयास गरिरहेको छ।’

सरकारले अधिकांश क्षेत्रमा करको भार घटाउने नीति अवलम्बन गरेको दाबी गर्दै उनले आर्थिक प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने अभियान जारी रहेको बताए।

पूँजीबजारका सन्दर्भमा पनि उनले केही समूहको प्रभाव रहेको संकेत गर्दै सुधारको प्रक्रिया क्रमशः अघि बढाइने बताए। ‘शेयर बजारमा ठूलो रूपमा स्क्याम् छ’ उनले भने, ‘विस्तारै योग्य व्यक्तिहरूलाई जिम्मेवारीमा ल्याएर सुधारका काम अगाडि बढाइनेछ।’

अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी, उत्पादन र रोजगारी विस्तारमा केन्द्रित रहेको बताउँदै आर्थिक गतिविधि बढाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*