पेट्रोलको मूल्य घटाउन सरकारको आनाकानी, महँगो इन्धन बेचेर जनतामाथि ब्रह्मलुट

काठमाडौं । सुशासनको जगमा बनेको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन आनाकानी गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य नघटाएर उपभोक्तामाथि अनावश्यक आर्थिक भार थोपरिदै गएको हो ।
मूल्य बढ्नेबित्तिकै रातारात समायोजन गर्ने सरकार र नेपाल आयल निगम अहिले भने मूल्य घटाउने विषयमा विभिन्न प्राविधिक कारण देखाउँदै सर्वसाधारणलाई महङ्गीको मार पारि रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य युद्धअघिकै स्तरभन्दा तल झरिसक्दा पनि नेपाली उपभोक्ताले अझै महँगो मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य भइरहेका छन्।
विश्व बजारको तथ्यांकअनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि मध्यपूर्वमा उत्पन्न तनावका कारण ब्रेन्ट क्रुडको मूल्य तीव्र रूपमा बढेको थियो। युद्ध सुरु हुनुअघि प्रतिब्यारेल करिब ७६ अमेरिकी डलर रहेको ब्रेन्ट क्रुड केही समय ११० डलरभन्दा माथिसम्म पुगेको थियो। तर पछिल्लो समय युद्धविरामको अवस्था सिर्जना हुनु, व्यापारिक मार्ग पुनः सञ्चालनमा आउनु तथा आपूर्ति सहज बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः घटेर युद्धअघिको अवस्थाभन्दा पनि तल आइपुगेको छ। हाल ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७२ देखि ७३ अमेरिकी डलरको बीचमा कारोबार भइरहेको छ भने डब्लुटीआई (क्रुड आयल) पनि घटेर करिब ६९ देखि ७० अमेरिकी डलरको हाराहारीमा पुगेको छ।
अघिल्लो महिनाको तुलनामा मात्रै ब्रेन्ट क्रुडको मूल्य २० प्रतिशतभन्दा बढीले घटिसकेको छ। यस्तो अवस्थामा प्रशोधित पेट्रोलियम पदार्थको लागत पनि घट्नुपर्ने भए पनि त्यसको प्रत्यक्ष लाभ नेपाली उपभोक्ताले पाउन सकेका छैनन्।
यसबीच घुस र भ्रष्टाचारको दलदलमा फसेको आरोप खेप्दै आएको नेपाल आयल निगमले भने अझै पुरानै महँगो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको भन्दै आलोचना भइरहेको छ। निगमको यस्तो कार्यशैलीलाई सरकारले मौन समर्थन गरेको देखिएको उपभोक्ताको गुनासो छ।
यता अर्थमन्त्री स्वर्णिम वाग्लेले भने पेट्रोलियम पदार्थको मूल्य अब घट्ने दाबी गरेका छन्। प्रतिनिधिसभामा बोल्दै उनले नेपालले भारतीय आयल निगममार्फत इन्धन आयात गर्ने भएकाले मूल्य समायोजन हुन केही समय लाग्ने बताए। उनले भने, ‘केही समय लाग्छ, इन्धन अब भारतीय आयल निगममार्फत हामीले आयात गर्ने गरेका छौं। एडजस्ट भएर आउनका लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ।’
तर मूल्य बढ्नेबेला कुनै समय नलगाई तत्कालै समायोजन गरिने तर घट्ने बेला भने विभिन्न प्रक्रिया र प्राविधिक कारण देखाएर ढिलाइ गरिने परिपाटीले सरकारको नियतमाथि नै शंका उत्पन्न भइरहेको हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य प्रत्येक महिनाको १ तारिखमा मात्रै प्राप्त हुने तथा पेट्रोल र डिजेलको मूल्य भने प्रत्येक महिनाको १ र १६ तारिखमा आउने भएकाले सोहीअनुसार मूल्य परिवर्तन गरिने दाबी गर्दै आएको छ। तर निगमले अहिले देखाइरहेको यही १५ दिने कार्यतालिका गत चैत र वैशाख महिनामा भने लागू गरेको देखिँदैन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहाना बनाउँदै निगमले २०८२ चैत महिनामा मात्रै एक महिनाभित्र पाँच पटकसम्म इन्धनको मूल्य बढाएको थियो।
अहिले भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लागे पनि नेपालमा भने पुरानै महँगो मूल्य कायम छ ।नियमले मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आमउपभोक्तालाई थप मारमा पारिरहेको हो । कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घट्नुपर्नेमा आयल निमगको चरम लापरबाहीले सर्वसाधारणलाई सास्ती भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट, नेपाली उपभोक्तामाथि लुटधन्दा चलाउँदै आयल निगम











