क्रिप्टो मुद्राले ट्रम्पलाई बनायो अझ धनी, एक वर्षमै करिब एक अर्ब डलर आम्दानी

१७ असार २०८३, बुधबार १३:५४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो मुद्रा कारोबारबाट करिब एक अर्ब अमेरिकी डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक विवरणमा ट्रम्पले मुख्य रूपमा ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ र ‘ट्रम्प क्रिप्टो मुद्रा’सँग सम्बन्धित कारोबारबाट ठूलो आम्दानी गरेको उल्लेख गरिएको छ।

आर्थिक विवरणअनुसार यही आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच ट्रम्पको व्यक्तिगत सम्पत्ति दुई अर्ब ३० करोड अमेरिकी डलरबाट बढेर छ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। अमेरिकी आर्थिक पत्रिका ‘फोर्ब्स’ले पनि ट्रम्पको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।

विवरणअनुसार ट्रम्पले ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’सँगको सम्बन्धबाट करिब पाँच करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेका छन्। त्यसैगरी सन् २०२५ को जनवरीमा राष्ट्रपतिको शपथ ग्रहणअघि सार्वजनिक गरिएको ‘ट्रम्प क्रिप्टो मुद्रा’सँग सम्बन्धित इजाजतपत्र सम्झौताबाट उनले थप ६३ करोड ५० लाख अमेरिकी डलर रोयल्टी प्राप्त गरेका थिए।

उक्त कम्पनी सन् २०२४ को सेप्टेम्बरमा ट्रम्पका छोराहरू र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए। कम्पनीले आफ्नै ‘डब्लुएलएफआई’ नामक डिजिटल टोकन बिक्री गरेर ५५ करोड अमेरिकी डलर संकलन गरेको थियो।

सन् २०२५ को सेप्टेम्बरदेखि कारोबारयोग्य बनेको उक्त टोकनको मूल्य सुरुमा ४६ सेन्ट रहेकामा हाल घटेर करिब छ सेन्टमा पुगेको छ। ट्रम्प र उनका तीन छोराले ‘डिटी मार्क्स डेफाई’मार्फत थप २२ अर्ब ५० करोड ‘डब्लुएलएफआई’ टोकन प्राप्त गरेका छन्। ती टोकनको हालको अनुमानित मूल्य करिब एक अर्ब ३० करोड अमेरिकी डलर रहेको जनाइएको छ।

कम्पनीले सन् २०२५ को अप्रिलमा अमेरिकी डलरसँग आबद्ध स्थिर डिजिटल मुद्रा पनि सार्वजनिक गरेको थियो।

क्रिप्टो मुद्रा क्षेत्रमा ट्रम्पको सक्रिय संलग्नताका कारण उनीमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमनमा सहजता प्रदान गर्न खोजेको भन्दै स्वार्थको द्वन्द्वको आरोप लाग्दै आएको छ। तर ह्वाइट हाउसले ती आरोप अस्वीकार गर्दै राष्ट्रपति वा उनको परिवार कुनै पनि प्रकारको स्वार्थको द्वन्द्वमा संलग्न नरहेको जनाएको छ।

ह्वाइट हाउसकी प्रमुख उपप्रेस सचिव अन्ना केलीले ट्रम्पले अमेरिकालाई विश्वकै ‘क्रिप्टो राजधानी’ बनाउने लक्ष्यका साथ काम गरिरहेको दाबी गर्दै प्रशासनका सबै निर्णय अमेरिकी नागरिकको हितलाई केन्द्रमा राखेर गरिएको बताएकी छन्।

सन् १९७८ को कानुनअनुसार अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो सम्पत्ति तथा आम्दानीको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। यस वर्ष सार्वजनिक गरिएको विवरणमा प्रथम महिला मेलानिया ट्रम्पले अमेजनका लागि निर्माण गरिएको वृत्तचित्रबाट एक करोड अमेरिकी डलरभन्दा बढी तथा आफ्नो पुस्तक **‘मेलानिया’**बाट पाँच लाख अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको उल्लेख गरिएको छ।

त्यस्तै, ट्रम्पले ‘कोइनबेस’जस्ता क्रिप्टो मुद्रा कम्पनीका सेयर, ट्रम्प ब्रान्डका विभिन्न सामग्री तथा गायक ली ग्रीनउडसँगको सहकार्यमा बिक्री गरिएको बाइबलबाट पनि उल्लेखनीय आम्दानी गरेको विवरणमा जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*