ओखलढुङ्गाको खानेपानी योजनामा साढे १८ लाखको बैंक जमानत हिनामिना

काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा सञ्चालित पलापु लिफ्ट खानेपानी योजनासम्बन्धी १८ लाख ५० हजार रुपैयाँको कार्यसम्पादन बैंक जमानत रकम हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर १ र २ मा सञ्चालन गरिएको वृहत् खानेपानी योजनाका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको थियो। उक्त योजना निर्माणका लागि शिरिस कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो। कम्पनीले १८ लाख ५० हजार रुपैयाँको कार्यसम्पादन बैंक जमानत पनि पेश गरेको थियो।
अनुसन्धानबाट निर्माण कम्पनीले तोकिएको समयभित्र काम नगरेपछि गाउँ कार्यपालिकाले ठेक्का सम्झौता रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको देखिएको आयोगले जनाएको छ। तर उक्त निर्णय कार्यान्वयन नगरी बैंक जमानतको म्याद सकिन दिइएको र त्यसपछि मात्रै ठेक्का अन्त्य तथा बैंकलाई जमानत रकम माग गर्दै पत्राचार गरिएको पाइएको आयोगको निष्कर्ष छ।
आयोगका अनुसार यसरी जमानतको म्याद गुजार्दा कानुनअनुसार असुल हुनुपर्ने १८ लाख ५० हजार रुपैयाँ सरकारी कोषमा दाखिला हुन नसकी सार्वजनिक सम्पत्तिमा नोक्सानी पुगेको छ। यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी र शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईबीच मिलेमतो भएको दाबी गर्दै आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगले प्रेमप्रसाद सुवेदीसँग १८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना, बिगो असुल तथा कैद सजायको माग गरेको छ। यस्तै शिरिस कन्स्ट्रक्सन र त्यसका सञ्चालक प्रकाश नाछिरिङ राईलाई मुख्य कसुरदारका मतियारका रूपमा मुख्य अभियुक्तसरह सजाय हुनुपर्ने मागसहित मुद्दा चलाएको छ।











