ललितपुरमा चिनियाँ नागरिकको शंकास्पद जमघट, अध्यागमनद्वारा ९ जनालाई पक्राउ

काठमाडौं । अध्यागमन विभागले ललितपुरको धोबीघाट र चोभार क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। साथै अनुसन्धानका लागि १८ वटा राहदानी नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार ठूलो संख्यामा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा विभागको टोलीले अनुगमन गर्दा धोबीघाटबाट तीन जना र चोभारबाट छ जना चिनियाँ नागरिक पक्राउ परेका हुन्।
प्रारम्भिक अनुसन्धानका क्रममा धोबीघाटस्थित चारतले घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएको खुलेको विभागले जनाएको छ। अनुगमनका क्रममा त्यहाँ २२ जना चिनियाँ नागरिक फेला परेका थिए, जसमा ११ जना पुरुष र ११ जना महिला रहेका थिए।
विभागका अनुसार तीमध्ये चार जना व्यावसायिक भिसा र १८ जना पर्यटक भिसामा नेपालमा बस्दै आएका थिए। सबैसँग वैध भिसा रहेको पुष्टि भए पनि २२ जनामध्ये १८ जनाले मात्र राहदानी प्रस्तुत गरेका थिए। बाँकी चार जनाले राहदानी भिसासम्बन्धी कामका लागि कानुन व्यवसायीसँग रहेको जानकारी दिएपछि थप अनुसन्धानका लागि १८ वटा राहदानी नियन्त्रणमा लिइएको प्रवक्ता ढकालले बताए।
अनुसन्धानका क्रममा उक्त घर ड्रागन ब्रिज इन्टरनेसनल प्रालिले भाडामा लिएको खुलेको छ। घरलाई होस्टेलका रूपमा सञ्चालन गरिएको दाबी गरिए पनि त्यहाँ कुनै आधिकारिक साइनबोर्ड, उद्योग दर्ता प्रमाणपत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाण वा अन्य आवश्यक कानुनी कागजात फेला नपरेको विभागले जनाएको छ।
त्यस्तै, आफूलाई होस्टेल सञ्चालक बताउने कर्मा शेर्पा र मञ्जु लामासँग त्यहाँ बसोबास गर्ने विदेशी नागरिकको अभिलेख, आगन्तुक विवरण वा वास्तविक तथ्याङ्कसमेत उपलब्ध नभएको विभागले जनाएको छ।












