युनाइटेड अजोडको अवितरित हकप्रद शेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ।
कम्पनीले १००ः१० को अनुपातमा हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको उक्त शेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमा राख्दा साविकका संस्थापक शेयरधनीबाट बोलपत्र नपरेपछि सबैले किन्न पाउने गरी पुनः लिलामीमा राखेको हो।
यसमा असार २५ गते बिहीबारदेखि साउन १ गते शुक्रबारसम्म बोलपत्र पेश गर्नु पर्नेछ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीमा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।
बोलपत्र फाराम कमलपोखरीस्थित एलएस क्यापिटल (बिक्री प्रबन्धक) का साथै लक्ष्मी सनराइज बैंकका विराटनगर–हनुमानदास सडक, वीरगञ्ज–आदर्शनगर, जनकपुर–भानुचोक, हेटौंडा–पारिजात पथ, नारायणघाट–बालकुमारी चोक, पोखरा–न्यूरोड, बुटवल–मिलनचोक, नेपालगञ्ज–न्यूरोड, वीरेन्द्रनगर–वीरेन्द्रचोक र धनगढी–शहीदगेट स्थित शाखा कार्यालयमा प्राप्त गर्न र बुझाउन सकिनेछ।











