सातै प्रदेशमा फरेन्सिक प्रयोगशाला विस्तार गरिने, यसै वर्ष दुई नयाँ शाखा खोल्ने तयारी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान (फरेन्सिक) प्रयोगशालाको सेवा देशभर विस्तार गरिने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलका क्रममा उनले सबै प्रदेशमा प्रयोगशालाका शाखा स्थापना गर्ने योजना रहेको जानकारी दिए।
हाल चार वटा शाखा सञ्चालनमा रहेको भन्दै उनले यसै वर्षभित्र कम्तीमा दुई वटा नयाँ शाखा खोल्ने लक्ष्य रहेको बताए। शाखा विस्तारसँगै ती प्रयोगशालालाई अत्याधुनिक उपकरण र आवश्यक जनशक्तिसहित पूर्ण रूपमा सक्षम बनाइने उनले स्पष्ट पारे।
उनले विगतमा पर्याप्त जनशक्ति र उपकरण बिना अस्पताल खोल्दा सेवा प्रभावकारी हुन नसकेको अनुभव दोहोरिन नदिने बताए। फरेन्सिक प्रयोगशालाका शाखा गुणस्तरीय र प्रभावकारी हुने गरी विस्तार गरिने उनको भनाइ थियो। मन्त्री पुनले तत्काल स्थानीय तहमा भने शाखा स्थापना नगर्ने बताए।
उनले प्रयोगशालाले दिने प्रतिवेदन कानुनी रूपमा अन्तिम र बाध्यकारी हुने भएकाले विधेयकमा विश्वसनीय भन्ने शब्द राख्न आवश्यक नरहेको पनि बताए। प्रतिवेदनमाथि नै शंका गर्ने अवस्था भए त्यसको कानुनी महत्व कमजोर हुने उनको भनाइ थियो।
यस्तै मन्त्री पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पूर्ण रूपमा स्वायत्त नभई स्वशासित संस्था हुने बताए। सरकारको बजेटमा सञ्चालन हुने संस्थामा सरकारको भूमिका रहने भएकाले त्यसलाई पूर्ण स्वायत्त भन्न नमिल्ने उनको तर्क थियो। उनले मन्त्रालयले प्रयोगशालामा प्रत्यक्ष हस्तक्षेप नगरी नीति निर्माण र समन्वयको भूमिका मात्र निभाउने बताए।











