सेबोन अध्यक्ष भट्टको प्रतिबद्धता : पुँजी बजारलाई पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाइने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार ग्रहण गरेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँग भएको पहिलो औपचारिक भेटमा उनले सरकारको बजेट तथा नीति–कार्यक्रममा समेटिएका पुँजी बजार सुधारका योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने बताएका हुन्।
बिहीबार सेबोनको कार्यालयमा भएको शिष्टाचार भेटमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पुँजी बजार सुधारका लागि आवश्यक नीति, संरचना र कार्यान्वयनमा एसोसिएसनले पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो।
दुवै पक्षबीच चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका पुँजी बजार सुधारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा विस्तार, प्रविधिमैत्री सेवा प्रवाह तथा समग्र बजारको संस्थागत सुदृढीकरणका विषयमा सकारात्मक छलफल भएको स्टक ब्रोकर एसोसिएसनले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत डेरिभेटिभ कारोबार, सर्ट सेलिङ, इन्ट्राडे कारोबार, विदेशी तथा गैरआवासीय नेपाली (एनआरएन) लगानी विस्तार, लगानीकर्ता संरक्षणलगायतका विषयलाई प्राथमिकतामा राखेको छ। यिनै सुधारका एजेन्डालाई कार्यान्वयन गर्ने जिम्मेवारी सेबोनको काँधमा रहेकाले नवनियुक्त नेतृत्व र बजारका प्रमुख सरोकारवालाबीच भएको यो पहिलो औपचारिक संवादलाई आगामी पुँजी बजार सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको छ।











