२ प्रतिशत घट्यो सार्वजनिक यातायातको भाडा

१८ असार २०८३, बिहीबार १६:१८

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गरेको छ । इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरेको हो ।

विभागका अनुसार यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर १९३ रुपैयाँ ८३ पैसा कायम भएको छ । इन्धनको मूल्यमा आएको यही कमीलाई आधार बनाएर सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाइएको विभागले जनाएको छ ।

यसअघि डिजेलको मूल्य बढ्दा विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतसम्म वृद्धि गरेको थियो । त्यतिबेला पूर्ण रूपमा भाडा समायोजन हुन नसकेका कारण अहिले इन्धनको मूल्य घटेसँगै त्यसलाई समेत समेटेर दुई प्रतिशतले भाडा घटाउने निर्णय गरिएको विभागको भनाइ छ ।

नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारीसाधन, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मार्गमा सञ्चालन हुने मालवाहक सवारीसाधन सबैमा दुई प्रतिशतका दरले भाडा घट्नेछ । विभागले यो व्यवस्था असार १८ गतेदेखि लागू हुने जनाएको छ । यो निर्णय दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*