नवनियुक्त अध्यक्ष भट्टसँग मर्चेन्ट बैंकर्स संघको भेट, पुँजी बजार सुधारमा सहकार्य बढाउने प्रतिबद्धता

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग शिष्टाचार भेट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटका क्रममा नेपालको पुँजी बजार सुधार, विकास र लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल भएको छ।
संघका कार्यसमिति सदस्यहरूले अध्यक्ष भट्ट तथा सेबोनका कार्यकारी निर्देशकहरूसँगको भेटमा नयाँ नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले बजारलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन नियामक र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
जवाफमा अध्यक्ष डा. भट्टले मर्चेन्ट बैंकर्स संघप्रति धन्यवाद व्यक्त गर्दै पुँजी बजारको सुधार र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य तथा निरन्तर संवादलाई प्राथमिकतामा राखिने बताएका छन्। उनले बजार सुधारका लागि सरोकारवालासँग समन्वय गर्दै आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अघि बढाइने धारणा राखेका छन्।
भेटका क्रममा विशेषगरी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा प्राइभेट इक्विटीसँग सम्बन्धित विषयमा केन्द्रित भएर छलफल भएको थियो। लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा पुँजी बजारलाई थप गतिशील, व्यवस्थित र प्रभावकारी बनाउने उपायबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको संघले जनाएको छ।
त्यसैगरी बजारमा पारदर्शिता, संस्थागत सुशासन र नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताको विश्वास थप मजबुत बनाउन आवश्यक कदमका विषयमा पनि छलफल भएको थियो।











