बर्ड फ्लुबाट पीडित किसानका लागि ५० करोड निकासा, ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाइने

काठमाडौं । बर्ड फ्लुबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५० करोड रुपैयाँ क्षतिपूर्ति रकम निकासा गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पशुसेवा विभागमार्फत उक्त रकम उपलब्ध गराएको हो।
मन्त्रालयका अनुसार बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि बजेट निकासा गरिएको हो। आर्थिक क्षति व्यहोरेका किसानलाई राहत प्रदान गर्न विभागले आवश्यक बजेट माग गरेपछि मन्त्रालयले रकम उपलब्ध गराएको जनाएको छ।
बर्ड फ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार प्रमाणित क्षतिको मूल्याङ्कनका आधारमा प्रभावित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रमाणित क्षतिको विवरणका आधारमा पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको क्षतिपूर्ति सम्बन्धित किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ।
पशुसेवा विभागका अनुसार हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा करिब ७ लाख पन्छी, ११ लाख अण्डा तथा ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको छ।
गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्ड फ्लुले अहिले ११ जिल्लामा प्रभाव पारेको छ। भाइरसको स्वरूप परिवर्तन हुँदै थप फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै रोग नियन्त्रणका लागि संक्रमित क्षेत्रका पन्छी, अण्डा तथा दाना नष्ट गर्ने अभियान सञ्चालन गरिएको विभागले जनाएको छ।











