स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरुलाई २३ अर्ब भुक्तानी, बन्द भएका सेवाहरु सुचारु हुँदै

१९ असार २०८३, शुक्रबार १२:३७

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । बोर्डले आज शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो । बोर्डले रकम दिन थाले लगत्तै अस्पतालहरुले स्वास्थ्य बीमा सेवा सुचारु गर्न लागेका छन् ।

यो भुक्तानीसँगै २०८२ साल मङ्सिर मसान्तसम्म स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको छ ।

सीमित स्रोत साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च न्यूनीकरण र वित्तीय जोखिम संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ । बोर्डको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न नसकिएको र यसबाट सेवा प्रदायक तथा बीमित सेवाग्राहीहरूमा असहज परिस्थिति उत्पन्न भएको विषयप्रति बोर्ड पूर्ण रूपमा जानकार रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।मङ्सिर पश्चातको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिन हार्दिक अनुरोध गरेको छ ।

साथै, सम्पूर्ण बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिई बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*