चिनियाँ सीमाक्षेत्रबाट पक्राउ परेका दुई नेपाली सात दिनपछि रिहा

१९ असार २०८३, शुक्रबार १३:३९

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ हुँदै लप्ची पुगेका दुई नेपाली युवक सात दिनपछि चिनियाँ प्रहरीको नियन्त्रणबाट रिहा भएका छन्। सीमाक्षेत्रमा ड्रोन उडाएको आशंकामा १२ असारमा पक्राउ परेका उनीहरूलाई चिनियाँ प्रहरीले तातोपानीस्थित मितेरी पुलमा ल्याएर नेपाली अध्यागमनको जिम्मा लगाएको हो।

रिहा हुनेमा काठमाडौंको टोखा नगरपालिका–धापासीका ३५ वर्षीय सुदीप थापामगर र भक्तपुरको मध्यपुर ठिमीका ३५ वर्षीय मनोज प्रजापति रहेका छन्। दुवै जना भ्लगर हुन्। घुमघामका क्रममा एउटै मोटरसाइकलमा दोलखा पुगेका उनीहरू बिगु हुँदै लप्ची क्षेत्रसम्म पुगेका थिए।

अध्यागमन कार्यालय कोदारी–तातोपानीका अनुसार चिनियाँ सुरक्षाकर्मीले सीमाक्षेत्रमा ड्रोन उडाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनीहरूलाई चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत न्यालम काउन्टीमा लगेर सोधपुछ गरिएको थियो। आवश्यक अनुसन्धान पूरा भएपछि सात दिनपछि तातोपानी ल्याएर नेपाली पक्षलाई जिम्मा लगाइएको हो।

यद्यपि, रिहा भएपछि दुवै युवकले आफूहरूले ड्रोन नउडाएको दाबी गरेका छन्। उनीहरूका अनुसार भोक लागेपछि खाना खोज्ने क्रममा चिनियाँ क्षेत्रमा पुगेका थिए। त्यसक्रममा झोलामा रहेको ड्रोन भेटिएपछि चिनियाँ प्रहरीले नियन्त्रणमा लिएको थियो।

चिनियाँ पक्षले रिहा गर्ने जानकारी दिएपछि अध्यागमन कार्यालयले उनीहरूका परिवारलाई खबर गरेको थियो। त्यसपछि मनोज प्रजापतिका अभिभावक बिहीबार बिहान तातोपानी पुगेका थिए। अध्यागमनको रोहवरमा चिनियाँ प्रहरीले दुवै युवकलाई अभिभावकको जिम्मा लगाएको हो।

अध्यागमन कार्यालयका अनुसार स्वास्थ्य परीक्षण खर्च भन्दै चिनियाँ प्रहरीले दुवै जनाबाट जनही एक हजार चिनियाँ युआन (आरएमबी) लिएको छ। नेपाल प्रहरीको अभिलेखमा उनीहरूविरुद्ध कुनै आपराधिक नजिर फेला परेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*