संवैधानिक परिषद्को बैठक आज, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी
१९ असार २०८३, शुक्रबार १४:१०

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ।
प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो।
उनका अनुसार बैठकमा संवैधानिक निकायहरूमा रहेका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ।
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक जिम्मेवारी वहन गर्दै आएको छ। यसपटकको बैठकमा रिक्त रहेका पदमा नियुक्ति प्रक्रियालाई अगाडि बढाउने विषयमा निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।











