हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, सेनामार्फत परीक्षण उत्पादन सुरु

२१ असार २०८३, आईतवार १०:३५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम अघि बढाइएको बताएका छन्।

वर्तमान सरकारको १०० दिन पूरा भएको अवसरमा शनिबार (असार २०) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइएको जानकारी दिए।

उनका अनुसार नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत निकासा भइसकेको छ। बजेट उपलब्ध भएसँगै नेपाली सेनाले परीक्षण उत्पादनको कार्य अगाडि बढाइरहेको उनले बताए।

“नेपाल सरकारको स्वीकृतिपश्चात् अर्थ मन्त्रालयबाट बजेटको निकासा भइसकेको हुनाले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढिरहेको छ,” सचिव राउतले भने।

यसैबीच, लामो समयदेखि बन्द वा रुग्ण अवस्थामा रहेका सात वटा सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डिलिजेन्स अडिट–डीडीए) गर्ने कार्य पनि जारी रहेको उनले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*