बारम्बार ताकेता गर्दा पनि काम नभएपछि चार निर्माण कम्पनीको ठेक्का रद्द

२२ असार २०८३, सोमबार १०:३१

काठमाडौं । पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र निर्माण कार्य सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले चार निर्माण आयोजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ।

डिभिजनले सार्वजनिक सूचनामार्फत सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न असफल भएका चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताका सर्तबमोजिम अन्त्य गरिएको जनाएको हो।

सडक डिभिजन सुर्खेतका सूचना अधिकारी रुपेश केसीका अनुसार सम्बन्धित निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गरिए पनि अपेक्षित प्रगति नभएपछि कानुनी व्यवस्थाअनुसार ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको हो।

सम्झौता अन्त्य गरिएका आयोजनामध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामाथि प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एड्भेन्चर जेभी, बाँकेले पाएको थियो। त्यस्तै, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा प्रि–स्ट्रेस्ड आरसिसी पुल निर्माणको ठेक्का जयबुद्ध–नेपाल मेगा बिल्डर्स जेभी, सुर्खेतलाई दिइएको थियो।

यस्तै, सुर्खेत–जुम्ला सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको जिम्मा टिडीआर कन्स्ट्रक्सन प्रालि, धनगढीले लिएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल सडकखण्डमा सडक पुनःस्थापना, नाला निर्माण तथा सडक संरक्षणको काम जनता बिल्डर्स, भेरीगङ्गा–९ सुर्खेतले गरिरहेको थियो। यी चारवटै आयोजनामा सम्झौताअनुसार सन्तोषजनक प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको डिभिजनले जनाएको छ।

डिभिजनका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) तथा ठेक्का सम्झौताअन्तर्गतको जिसीसी सम्बन्धी व्यवस्थाबमोजिम सम्झौता अन्त्य गरिएको हो।

साथै, सार्वजनिक खरिद नियमावलीअनुसार पोस्ट टर्मिनेसन इभालुएसन गरी कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने तथा सरकारलाई भएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाटै असुलउपर गरिने डिभिजनले जनाएको छ।

डिभिजनले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न पनि आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*