कृषि बीमाको पहुँच विस्तार गर्न एनएलजी इन्स्योरेन्सको अभियान, कोहलपुरका किसानसँग अन्तरक्रिया

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक कार्ययोजना तथा कृषि बीमा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोहलपुर उपशाखा कार्यालयको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १३ मा एक दिने कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्काले कृषि तथा पशुपालन क्षेत्रमा प्राकृतिक प्रकोप, रोगव्याधि तथा अन्य विभिन्न जोखिमबाट किसानलाई आर्थिक सुरक्षा प्रदान गर्न कृषि तथा पशुपन्छी बीमाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले किसान तथा पशुपालकहरूलाई बीमाको दायरामा आबद्ध भई आफ्नो उत्पादन तथा व्यवसाय सुरक्षित बनाउन आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपालगञ्ज शाखाका शाखा प्रमुख विवेक भण्डारीले कम्पनीले कृषि तथा पशुपन्छी बीमामार्फत कृषकहरूलाई प्रदान गर्दै आएको सेवा, सुविधा, बीमा प्रक्रिया, दाबी व्यवस्थापन तथा बीमाको महत्वबारे विस्तृत जानकारी दिए । उनले कम्पनीले कृषकको हितलाई प्राथमिकतामा राख्दै सहज, छिटो र भरपर्दो सेवा प्रदान गरिरहेको उल्लेख गर्दै कृषि बीमाको पहुँच अझ व्यापक बनाउन यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी कोहलपुर नगरपालिका कृषि शाखाका पशु प्राविधिक लोकेन्द्र बि.सी. (बुढाक्षेत्री) तथा डिल्ली बहादुर खड्काले पशुपालन व्यवसायमा देखिने विभिन्न जोखिम, रोग नियन्त्रण, जैविक सुरक्षा तथा आधुनिक पशुपालन व्यवस्थापनसँगै बीमाको आवश्यकताबारे प्राविधिक जानकारी प्रदान गरे । उनीहरूले किसानहरूका जिज्ञासाको समाधान गर्दै बीमाले आकस्मिक क्षतिको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्ने प्रभावकारी माध्यम भएको बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं। १२ र १३ का किसान, पशुपालक तथा कृषि व्यवसायी गरी ४७ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, बीमा गर्ने प्रक्रिया, दाबीका लागि आवश्यक कागजात, जोखिम व्यवस्थापन तथा कम्पनीले उपलब्ध गराउने सेवासम्बन्धी अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले आफ्ना जिज्ञासा तथा अनुभवहरू खुलस्त रूपमा राखेका थिए भने सम्बन्धित विषयविज्ञहरूले त्यसको समाधान गरेका थिए।

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन कोहलपुर उपशाखा कार्यालयका प्रमुख रजिश भण्डारीको नेतृत्वमा सम्पन्न भएको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी, जानकारीमूलक तथा समयसान्दर्भिक भएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले कृषक तथा पशुपालकहरूमा कृषि तथा पशुपन्छी बीमाप्रति सकारात्मक सोच विकास गर्नुका साथै बीमाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनले यस्ता कार्यक्रमले कृषकहरूको आर्थिक सुरक्षा सुदृढ गर्नुका साथै कम्पनीको कृषि बीमा व्यवसाय विस्तारमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे ।











