८१ लाखभन्दा बढीका सुनचाँदीसहित पक्राउ परेका कार्गो सञ्चालक २४ घण्टामै रिहा

काठमाडौं । नेपालबाट गैरकानुनी रूपमा सुन तथा चाँदीका गहना विदेश पठाउन खोजेको आरोपमा पक्राउ परेका दुई कार्गो कम्पनीका सञ्चालक पक्राउ परेको २४ घण्टा नबित्दै धरौटीमा रिहा भएका छन्। उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा धरौटी रकम बुझाएर छुटेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले १६ असारमा झापास्थित युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल र गौचरनस्थित एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदीलाई पक्राउ गरेको थियो। उनीहरूले कपडाजन्य सामग्रीको आवरणमा सुन र चाँदीका गहना विदेश पठाउने प्रयास गरेको आरोप लागेको थियो।
सुरक्षा निकायका अनुसार यस्तो प्रकृतिको कार्य हवाई सुरक्षा प्रणालीका दृष्टिले संवेदनशील मानिन्छ। प्रारम्भिक अनुसन्धानपछि दुवै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता ध्रुवराज विश्वकर्माले दुवै अभियुक्तलाई पक्राउ परेको भोलिपल्ट नै धरौटीमा रिहा गरिएको पुष्टि गरे। उनका अनुसार उनीहरूले तोकिएको धरौटी रकम बुझाएपछि कानुनी प्रक्रियाअनुसार रिहा गरिएको हो।
अनुसन्धानबाट उनीहरूले करिब ६७ लाख ३४ हजार ३५० रुपैयाँ बराबरका सुनका गहना र १४ लाख ३८ हजार ४३ रुपैयाँ बराबरका चाँदीका गहना कपडाजन्य सामग्रीभित्र लुकाएर विदेश पठाउने प्रयास गरेको खुलेको छ। बरामद गरिएका सुन तथा चाँदीका गहनाको कुल मूल्य करिब ८१ लाख ७२ हजार रुपैयाँ पुगेको छ।











