एक बर्षदेखि प्राधिकरणमा अध्यक्षको कुर्सी खाली, सिफारिस समितिलाई नै आवेदकको नाम लुकाइयो

काठमाडौं । । एक बर्षसम्म पनि नेपाल बीमा प्राधिकरणको अध्यक्षको कुर्सी खाली हुँदा पनि सरकारको वेवास्ता नै देखिएको छ ।
उम्मेदवारी दिएका ५० जनाको आवेदन सरकारले महिनैसम्म लुकाएर छनोट समितिलाई डाकेको छैन । ५० जना आवेदकको नाम छनोट सिफरिस समितिलाई नै सरकारले लुकाएको पाइएको छ।
८ वैशाखको मन्त्रिपरिषद्ले बीमा प्राधिकरण अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।
सोही दिन नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि समेत भट्टकै संयोजकत्वमा समिति बनेको थियो । त्यसमा थप प्रक्रिया पूरा गरेर गत ५ असारमा नै मन्त्रिपरिषद्ले डा. गोपालप्रसाद भट्टलाई बोर्डको अध्यक्ष नियुक्ति गरिसकेको छ । उनले सोमबार पदभारसमेत गरिसकेका छन् ।
तर, बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया भने एक महिनादेखि यथास्थितिमा छ । बिमा प्राधिकरणका अध्यक्षका लागि सिफारिस समितिले गत १३ देखि १९ जेठसम्मको अवधि राखेर प्रस्ताव आह्वान गरेको थियो । त्यसमा करिब चार दर्जन आकांक्षीले निवेदन दिए पनि एक महिनासम्म अन्तर्वार्ताका लागि उम्मेदवारको नामसमेत सर्टलिस्ट गरिएको छैन ।
हाललाई अस्थायी रूपमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई दिइएको छ ।











