बचाइदिनुहोस् भन्दै कर्णाली रोइरह्यो, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो: सांसद ज्ञानेन्द्र शाही

२२ असार २०८३, सोमबार १२:१९

काठमाडौँ । सांसद ज्ञानेन्द्र शाही कर्णालीमा भएको सवारी दुर्घटना र उद्धारमा भएको ढिलाइप्रति भावुक बनेका बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू आज बोल्न नभई पीडाले बोल्न बाध्य भएको भन्दै कर्णालीको करुण चित्कार गुन्जिएको बताएका हुन् ।

उनले, “आज म बोल्न उठेको छैन, पीडा बोलेको छ, आज मेरो आवाज होइन, कर्णालीको करुण चित्कार यो संसदमा गुन्जिएको छ,” भन्दै आफ्नो मन्तव्य सुरु गरे।

शाहीले बोल्दै गर्दा आफ्नो घाँटी अवरुद्ध भएको, मन भारी भएको, आँखाभरि आँसु भरिएको र सधैं चर्को रूपमा बोल्ने आफू आज शब्दसमेत खोज्न नसकिरहेको बताए। उनले, “मैले आज केवल एउटा दुर्घटना देखेको छैन, एउटा राज्यको असफलता देखेको छु, मैले केवल केही नागरिक गुमाएको होइन, असहाय बनेको एउटा कर्णाली देखेको छु,” भन्दै घटनाले आफूलाई गहिरो रूपमा मर्माहत बनाएको उल्लेख गरे।

उनले कर्णाली नदीमा गाडी खसेपछि नदीको बीचमा फसेका यात्रुहरूले “बचाइदिनुहोस्, उद्धार गरिदिनुहोस्” भन्दै जीवनको भिख मागिरहेको, उनीहरूको गुहारले नदीको किनार थर्किएको, डाको लगाउँदालगाउँदै स्वर सुक्दै गएको, आशा समाप्त हुँदै गएको तर उद्धार भने समयमै नपुगेको बताए। त्यही समयमा आकाशमा हेलिकप्टर देखिए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भइरहेको उनको आरोप थियो।

शाहीले, “उता केन्द्रीय मन्त्री हेलिकप्टरमा कर्णालीको आकाश घुमिरहेका थिए, यता प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू भागबन्डाका लागि एकआपसमा झगडा गरिरहेका थिए, तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिन गुहार मागिरहेका थिए,” भन्दै राज्य संयन्त्रको प्राथमिकतामाथि गम्भीर प्रश्न उठाए।

उद्धार कार्यको कमजोरी औँल्याउँदै उनले उद्धार टोलीसँग आवश्यक साधनस्रोत नभएको, सुरक्षाकर्मी घटनास्थलमा पुग्न पाँच घण्टा लागेको, उनीहरू पुग्दासम्म धेरै ढिलो भइसकेको, उद्धार गर्नभन्दा मुचुल्का उठाउनुपर्ने अवस्था आएको र फर्किँदाफर्किँदै नागरिक बेपत्ता भएको बताए।

दुर्घटनाले केवल छ जना मानिस मात्रै नहराएको उल्लेख गर्दै शाहीले, “कसैको घरको चुलो सदाका लागि निभ्यो, कसैले आफ्नो बुबा गुमायो, कसैले आफ्नो आमा गुमायो, कसैले आफ्नो श्रीमान् गुमायो, कसैले आफ्नो श्रीमती गुमायो, कसैले आफ्नो सन्तान गुमायो, कसैको काख रित्तियो, कसैको भविष्य अन्धकार भयो,” भन्दै घटनाले अनेकौं परिवारमा अपूरणीय क्षति पुर्‍याएको बताए।

उनले आफूले पनि आफन्त र परिवार गुमाएको पीडा भोगेको उल्लेख गर्दै, “म यो पीडा केवल देखेर आएको होइन, मैले पनि आफन्त गुमाएको छु, मैले पनि परिवार गुमाएको छु, त्यसैले यो विषयमा बोल्दा मेरो मन टुक्रिन्छ, मेरो आत्मा रुन्छ,” भने। उनले आफ्नो अभिव्यक्तिलाई कसैले राजनीतिक वा भावनात्मक रूपमा व्याख्या गर्न सक्ने भए पनि, “जसले आफ्नो मान्छे गुमाएको हुन्छ, उसलाई पीडाको मूल्य थाहा हुन्छ,” भन्दै पीडाको अनुभूति शब्दमा व्यक्त गर्न नसकिने बताए।

शाहीले आफू दयाको भिख माग्न नभई प्रश्न गर्न संसदमा आएको बताउँदै, “के कर्णालीका जनता यो देशका नागरिक होइनन्, के कर्णालीका नागरिकलाई बाँच्न पाउने अधिकार छैन, के कर्णालीका युवाहरू यो देशको भविष्य होइनन्, यदि कर्णाली पनि नेपाल हो भने विभेद किन, यदि कर्णालीका जनता पनि नेपाली हुन् भने विपद्को बेला राज्य किन अनुपस्थित हुन्छ,” भन्दै सरकारसँग जवाफ मागे।

उनले सरकारले यही संसदमा विपद् व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारलाई प्राथमिकता दिने लगायतका ठूला आश्वासन दिए पनि व्यवहारमा कर्णालीले त्यो राज्य नदेखेको बताए। “आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहँदा नदीमा नागरिकहरू डुबिरहेका थिए, यो दृश्य केवल एउटा दुर्घटना होइन, राज्यको संवेदनहीनताको सबैभन्दा ठूलो प्रमाण हो,” भन्दै उनले सरकारको आलोचना गरे।

शाहीले सभामुखमार्फत सरकारसँग, “कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति हो,” भन्ने स्पष्ट जवाफ माग गर्दै, घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न, दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता दर्दनाक घटना दोहोरिन नदिने प्रभावकारी व्यवस्था गर्न सरकारलाई तत्काल रुलिङ गर्न सभामुखसँग आग्रह गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*