साउन २६ देखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारीसाधन नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं । सवारीसाधनका सौखिन, खरिदकर्ता तथा अटोमोबाइल उद्योगसँग सम्बन्धित सरोकारवालाका लागि प्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एक्स्पोको तयारी, उद्देश्य, मुख्य आकर्षण तथा अटोमोबाइल क्षेत्रका समसामयिक विषयबारे विस्तृत जानकारी दिएको हो।
नाइमाका अनुसार ६ दिनसम्म सञ्चालन हुने यस वर्षको एक्स्पोमा ५३ भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय (ईभी) तथा हाइब्रिड गरी ४० भन्दा बढी नयाँ सवारीसाधन नेपाली बजारमा पहिलो पटक सार्वजनिक (लन्च) गरिने नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन्।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेको बताइन्। उनका अनुसार सदस्य कम्पनीहरूको तीव्र विस्तारले नेपालको अटोमोबाइल क्षेत्रमा निजी क्षेत्रको विश्वास र लगानी बढ्दै गएको संकेत गरेको छ।
यसपटकको एक्स्पो व्यवसायिक प्रदर्शनीमा मात्र सीमित नरहने नाइमाले जनाएको छ। एक्स्पोबाट संकलित टिकट बिक्रीको कुल आम्दानीमध्ये १० प्रतिशत रकम अनुसन्धान फेलोसिपका लागि छुट्याइने घोषणा गरिएको छ। सो रकमबाट मोबिलिटी क्षेत्रसँग सम्बन्धित अनुसन्धानलाई प्रोत्साहन गरिनेछ र तयार भएका अनुसन्धान प्रतिवेदनहरू ‘नाइमा मोबिलिटी जर्नल’मा प्रकाशित गरिनेछन्। यसबाट नेपालको यातायात प्रणालीको विकास, तथ्याङ्क व्यवस्थापन तथा नीतिगत सुधारमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रले भोगिरहेका नीतिगत तथा पूर्वाधारसम्बन्धी समस्याहरूमाथि पनि ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गर्न आवश्यक पूर्वाधार अभावका कारण हरेक वर्ष कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उनले सरकारले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर निर्माणमा प्राथमिकता दिनुपर्ने माग गरिन्।
उनले सवारीसाधनमा लाग्ने उच्च करका कारण बजार विस्तारमा समस्या भइरहेको उल्लेख गर्दै कर संरचनालाई यथार्थपरक बनाउन सरकारसँग आग्रह गरिन्। साथै अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन ८०/२० को लोन रेसियोसहित खुकुलो मौद्रिक नीति लागू गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल र लबिङ भइरहेको जानकारी दिइन्।
नाइमाले आफ्नो भूमिका व्यवसायिक हितमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। संस्थाले हालसम्म १ हजार ६१० जना ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिसकेको छ। यसका साथै एक्स्पो अवधिभर ‘मोबिलिटी संवाद’ लगायतका लर्निङ सेसन सञ्चालन गरिनेछन्, जहाँ विद्यार्थी, पेशेवर तथा सर्वसाधारणले आधुनिक यातायात प्रविधि, विद्युतीय सवारी, सडक सुरक्षा तथा भविष्यको मोबिलिटी प्रणालीबारे जानकारी प्राप्त गर्नेछन्।
नाइमाका अनुसार एक्स्पोका लागि छुट्याइएका ५१ वटै स्टल पूर्ण रूपमा बुक भइसकेका छन्। विभिन्न ब्रान्डहरूको सहभागिताका लागि माग अत्यधिक बढेकाले केही कम्पनीहरूलाई स्थान अभावका कारण प्रतीक्षा सूची (पाइपलाइन) मा राख्नुपरेको जनाएको छ।
यस वर्षको एक्स्पोमा विशेषगरी विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण रहने आयोजकको दाबी छ। प्रदर्शनीमा टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलजस्ता स्थापित फोर–ह्विलर ब्रान्डका साथै ओमोडा, जेइकु, आयन र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछन्।
त्यसैगरी दुई पाङ्ग्रे सवारीतर्फ पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलहरूको उल्लेख्य उपस्थिति रहनेछ। प्युजो, एनआईयु, याडिया, एसर र ग्यारोजस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फजस्ता स्थापित कम्पनीहरूले पनि आफ्ना नयाँ उत्पादनहरू एक्स्पोमा प्रदर्शन गर्ने नाइमाले जनाएको छ।
‘सबैका लागि मोबिलिटी’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पो २०२६ ले नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ। आधुनिक प्रविधि, दिगो यातायात प्रणाली, अनुसन्धान, नीति संवाद तथा उपभोक्तामैत्री वातावरणलाई एकै थलोमा समेट्ने लक्ष्यसहित आयोजना हुन लागेको यो एक्स्पो नेपाली अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा रहने अपेक्षा गरिएको छ।
एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने ‘पावर्ड बाइ पार्टनर’का रूपमा रेड बुल नेपाल जोडिएको छ। आईएमई पे टिकटिङ पार्टनर रहेको एक्स्पोमा विद्यार्थीका लागि प्रवेश शुल्क १०० रुपैयाँ तथा सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको नाइमाले जनाएको छ।











