लगानीकर्ताका माग सम्बोधन गर्न सेबोन अध्यक्ष भट्टको ८ बुँदामा प्रतिबद्धता, आईपीओदेखि प्रि-आईपीओसम्म कडाइ गर्ने

२२ असार २०८३, सोमबार १९:१४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजारका लगानीकर्ताले उठाउँदै आएका प्रमुख मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। विभिन्न लगानीकर्ता संघका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले पूँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत तथा नियामकीय सुधार अघि बढाइने बताएका हुन्।

बोर्डका अध्यक्ष भट्ट र पूँजीबजारका लगानीकर्ता संघका प्रतिनिधिहरूबीच भएको छलफलमा बजार सुधार, नियमनको प्रभावकारिता तथा लगानीकर्ताको हित संरक्षणका विषयमा विस्तृत रूपमा विचारविमर्श भएको थियो।

छलफलका क्रममा बोर्डले पूँजीबजार सुधारका लागि दीर्घकालीन दृष्टिकोणसहित ‘भिजन पेपर’ तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिएको छ। यसले बजारलाई थप पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै, नकारात्मक नेटवर्थ भएका कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न रोक लगाउने विषयमा बोर्ड गम्भीर रहेको जनाइएको छ। बुक बिल्डिङ र प्रिमियम मूल्यमा जारी गरिएका आईपीओसम्बन्धी व्यवस्थाको पनि गहन अध्ययन भइरहेको अध्यक्ष भट्टले जानकारी दिएका छन्।

लगानीकर्ताले आफ्ना गुनासा लिएर धितोपत्र बोर्ड धाउनुपर्ने अवस्था अन्त्य गर्ने गरी प्रणाली विकास गरिने पनि छलफलमा उल्लेख गरिएको छ। साथै, आगामी दिनमा धितोपत्रसम्बन्धी नीति तथा नियम निर्माण गर्दा सरोकारवाला पक्षसँग पर्याप्त छलफल गरेर मात्र निर्णय गरिने प्रतिबद्धता बोर्डले जनाएको छ।

बजारमा नकारात्मक हल्ला फैलाउने, सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गर्ने तथा प्राविधिक विश्लेषणको नाममा इन्साइडरको भूमिका निर्वाह गर्ने व्यक्तिमाथि प्रभावकारी नियमन गरिने विषयमा पनि बोर्डले स्पष्ट धारणा राखेको छ।

यस्तै, प्रि–आईपीओको नाममा हुने अनियमितता तथा चलखेल तत्काल रोक्न आवश्यक कारबाही अघि बढाइने जनाइएको छ। बजारमा कार्यरत मार्केट मेकर, डिलर र म्युचुअल फण्डले आफ्नो उद्देश्यअनुसार काम गरे–नगरेको नियमित अनुगमन गरिने तथा ब्रोकर लाइसेन्स खुला राख्ने विषयमा पनि छलफल भएको छ।

१. धितोपत्र बोर्डले पूँजीबजार सुधारको लागि भिजन पेपरको तयारी गरी काम गरिरहेको जस्तै बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने।

२. नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ तत्काल रोक्ने र बुक बुल्डिङ र प्रिमियुमको बारेमा भएका आईपीओ निष्काशनमा गम्भीर अध्ययन भइरहेको।

३. बोर्डमा धितोपत्र बजारको गुनासो लिएर लगानीकर्ताहरु बोर्डमा आउन नपर्ने गरी काम हुने

४. धितोपत्र बोर्डले नीतिहरु बनाउँदा सरोकार वालाहरुको सहभागितामा छलफल गरेर नीतिहरु बनाउने ।

५. बजारमा नकारात्मक हल्ला गर्ने, सामाजिक सञ्जालमा बजारको बारेमा हल्ला गर्ने र उचित प्राविधिक विश्लेषणको नाममा इन्साइडर को भूमिका खेल्ने माथि नियमन गर्ने ।

६. प्रि आईपीओको नाममा भएको चलखेल तत्काल रोकी आवश्यक कारवाही गर्ने ।

७. मार्केट मेकर, डिलर, र म्युचुअल फण्डले उद्देश्य अनुसार काम गरे नगरेको निगरानी गर्ने र ब्रोकर लाइसेन्स खुल्ला राख्ने ।

८. पूँजीगत लाभ करलाई अल्पकालीन, मध्यम र दीगो अवधिको सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने साथै डिम्याट डीपी चार्जमा पुनरावलोकन गर्न समन्वय गर्ने, र साथै कम्पनीको शेयर स्थापन रेसियोमा अध्ययन गरी ५१ः४९ कायम गर्नेमा अध्ययन गर्ने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*