एक्सबक्समा सबैभन्दा ठूलो असर, माइक्रोसफ्टले ४,८०० कर्मचारी कटौती

२३ असार २०८३, मंगलवार १३:४२

काठमाडौं। विश्वको अग्रणी प्रविधि कम्पनी माइक्रोसफ्टले संगठनात्मक पुनर्संरचनाअन्तर्गत करिब ४ हजार ८ सय कर्मचारीको रोजगारी कटौती गर्ने निर्णय गरेको छ। यो संख्या कम्पनीका कुल कर्मचारीको करिब २.१ प्रतिशत बराबर हो। यस निर्णयको सबैभन्दा ठूलो प्रभाव कम्पनीको गेमिङ व्यवसाय ‘एक्सबक्स’ डिभिजनमा पर्ने भएको छ।

कम्पनीकी एग्जिक्युटिभ भाइस प्रेसिडेन्ट एमी कोलम्यानले कर्मचारीहरूलाई पठाएको आन्तरिक सन्देशमा सूचना प्रविधि क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले कम्पनीले आगामी रणनीति ग्राहकलाई बढी मूल्य र सेवा दिन सक्ने क्षेत्रतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छन्। उनका अनुसार प्रतिस्पर्धी बजारमा दीर्घकालीन सफलता हासिल गर्न संगठनको संरचनामा परिवर्तन अपरिहार्य बनेको हो।

पुनर्संरचनाको पहिलो चरणमै एक्सबक्स डिभिजनबाट १ हजार ६ सयभन्दा बढी कर्मचारीको जागिर जाने भएको छ। हालै एक्सबक्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएकी आशा शर्माले कर्मचारीहरूलाई सम्बोधन गर्दै कम्पनीले एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो संरचनागत परिवर्तन सुरु गरेको जानकारी दिएकी छन्। उनले आगामी एक वर्षभित्र थप करिब १ हजार ६ सय कर्मचारी कटौती गरिने योजना रहेको पनि स्पष्ट पारेकी छन्।

कर्मचारी संख्या घटाउने योजनासँगै कम्पनीले आफ्ना केही गेम विकास स्टुडियोहरूको संरचनामा समेत परिवर्तन गर्ने भएको छ। कम्प्लसन गेम्स, डबल फाइन प्रोडक्सन्स, निन्जा थ्योरी र अनडेड ल्याब्सलाई पुनर्संरचना योजनाअन्तर्गत छुट्टै व्यवस्थापन ढाँचामा लैजाने तयारी गरिएको कम्पनीले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*