सकारात्मक मौद्रिक नीतिको आशले बजारमा हरियालीः कारोबार समेत बढ्यो, यी कारण बढ्न सक्छ!

२३ असार २०८३, मंगलवार १५:०५

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक हुने दिन शेयर बजारमा उत्साह देखिएको छ । नेपाल राष्ट्र बैंकले लगानी र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याउने अपेक्षा बलियो बन्दै गएपछि लगानीकर्ताको मनोबल उकासिएको हो । केही समयदेखि दबाबमा रहेको बजार आज भने दोहोरो अंकले बढ्दै हरियालीतर्फ फर्किएको छ, जसले लगानीकर्तामा नयाँ आशा जगाएको छ ।

लामो समयदेखि लगातार घटिरहेको बजारलाई मौद्रिक नीतिले सकारात्मक दिशा दिने विश्वास लगानीकर्तामा देखिएको छ। विशेषगरी तरलता व्यवस्थापन, ब्याजदरको नीति, पूँजी बजारसँग सम्बन्धित कर्जा व्यवस्थापन तथा लगानीमैत्री व्यवस्थाबारे राष्ट्र बैंकले दिने संकेतलाई बजारले निकै चासोका साथ हेरिरहेको छ। यिनै अपेक्षाका कारण बजारमा खरिदकर्ता सक्रिय बन्दै गएको र त्यसको प्रभाव परिसूचकमा समेत देखिएको विश्लेषण गरिएको छ।

फागुन २१ पछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले राजनीतिक स्थायित्व र आर्थिक सुधारको अपेक्षा बढाएको भए पनि पछिल्ला सय दिनमा पूँजी बजारले अपेक्षित गति लिन सकेको थिएन। अधिकांश समय बजार दबाबमा रहेकाले लगानीकर्ताको आत्मविश्वास कमजोर बनेको थियो। तर मौद्रिक नीति सार्वजनिक हुने दिन देखिएको सुधारले बजारमा पुनः सकारात्मक वातावरण निर्माण हुन सक्ने संकेत दिएको छ।

पछिल्ला केही सातादेखि नियामक निकाय र अनुसन्धान एजेन्सीहरूको सक्रियताका कारण बजारमा केही सतर्कता देखिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित विभिन्न गतिविधिमाथि अनुसन्धान अघि बढाएपछि ठूला कारोबारी समूहहरू संयमित बनेका थिए। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार उच्च कारोबार गर्ने ब्रोकर कम्पनीमार्फत भएका ठूला कारोबारको प्रकृति अध्ययन भइरहेका कारण पनि बजारमा केही समय कारोबारको गति प्रभावित भएको मानिएको छ।

यद्यपि मौद्रिक नीतिप्रतिको सकारात्मक अपेक्षाले अहिले बजारमा नयाँ ऊर्जा थपिएको देखिएको छ। लगानीकर्ताले आर्थिक गतिविधि विस्तार, कर्जा प्रवाहमा सहजता तथा पूँजी बजारमैत्री नीतिगत व्यवस्था आउने विश्वास व्यक्त गरिरहेका छन्। यदि राष्ट्र बैंकले अपेक्षाअनुसार लगानी प्रोत्साहन गर्ने व्यवस्था अघि सारेमा शेयर बजारले आगामी दिनमा थप सकारात्मक गति समात्ने सम्भावना रहेको बजार विश्लेषकहरूको भनाइ छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५७ अकंले बढेर २६५१.६८ बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको ९५ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको १.५२ प्रतिशत, विकास बैंक समूहको १.१३ प्रतिशत, फाइनान्स समूहको ०.५७ प्रतिशतले शेयर मूल्य बढेको हो ।

मंगलबार २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*