आज २० अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

२४ असार २०८३, बुधबार १०:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’’ जारी गर्ने भएको छ।

केन्द्रीय बैंकका अनुसार उक्त ऋणपत्र अनलाइन बोलकबोलमार्फत जारी गरिनेछ। ऋणपत्रको साँवा २०८४ असार २४ गते भुक्तानी हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा वितरण गरिनेछ।

यस ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। बोलकबोल ब्याजदरका आधारमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको अन्तिम ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

राष्ट्र बैंकका अनुसार बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट सञ्चालन हुनेछ।

केन्द्रीय बैंकले आह्वान गरिएको रकमको बाँडफाँड गर्दा बोलकबोलमा प्रस्ताव गरिएका ब्याजदरलाई सानोदेखि ठूलो क्रमअनुसार राखी आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड रकमसम्म कायम हुने बिन्दुको ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गर्ने जनाएको छ। सोही एकल ब्याजदरमा उक्त दर वा सोभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने सहभागीलाई ऋणपत्र बिक्री गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*