गुणस्तरहीन ‘तेज’ तेल बेच्दै सिद्धार्थ आयल इन्डस्ट्रिज, ९ महिनामै एक अर्बभन्दा बढीको व्यापार

२४ असार २०८३, बुधबार १३:०१

काठमाडौँ । नेपाली बजारमा गुणस्तरहीन तेल बिक्री वितरण गर्दै आइरहेको सिद्धार्थ आयल इन्डस्ट्रिजले ९ महिनामा एक अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको अवधिमा एक अर्ब एक करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

यसअघि सिद्धार्थ आयल इन्डस्ट्रिजले आर्थिक वर्ष २०८१/०८२ मा एक अर्ब ५० करोड, २०८०/०८१ मा एक अर्ब १६ करोड ३० लाख र २०७९/०८० मा एक अर्ब पाँच करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । उल्लेख्य व्यापार गरिरहेको यही कम्पनीले उत्पादन गरेको तेल सरकारी परीक्षणमा गुणस्तरहीन ठहरिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको तथ्यले कम्पनीको उत्पादन गुणस्तर र वित्तीय अवस्थाबारे थप प्रश्न उठाएको छ।

गत जेठ १२ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिज रुपन्देहीले उत्पादन गरेको ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो । विभागले बजार अनुगमन क्रममा संकलन गरिएको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य मापदण्ड अनुसार नपाइएको जनाएको छ ।

उत्पादित आयातित तोरीबाट बनेको तेलमा कैफियत देखिएको हो । उपभोग्य मिति ६ महिना र ब्याच नम्बर २० रहेको उक्त तेलको उत्पादन मिति २८ फागुन २०८२ छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम विभागले उक्त ब्याचको तेल बजारबाट तत्काल फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ । साथै, सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त तेल बिक्री वितरण नगर्न र नगराउन समेत आदेश दिइएको हो । तर, उक्त कम्पनीले नेपाली बजारमा तेल बिक्री गरेर उल्लेख्य आम्दानी गरेको देखिएको छ ।

व्यापारको आकार ठूलो भए पनि कम्पनीको सञ्चालन नाफाको अवस्था भने स्थिर देखिँदैन। आर्थिक वर्ष २०७९/८० मा सञ्चालन आम्दानीको तुलनामा सञ्चालन नाफा केवल ०.३ प्रतिशत रहेको थियो। त्यसपछि २०८०/८१ मा यो बढेर ९.५ प्रतिशत पुगे पनि २०८१/८२ मा फेरि घटेर १.४ प्रतिशतमा सीमित भएको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा ६.८ प्रतिशत पुगेको देखिए पनि विगतका तथ्यांकले कम्पनीको नाफा दीर्घकालीन रूपमा स्थिर रहन नसकेको संकेत गरेको छ ।

कम्पनीको ऋणभार पनि उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा बढेर २ गुणा पुगेको थियो। त्यसपछि २०८१/८२ मा १.३ गुणामा झरे पनि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पुनः बढेर २.४ गुणासम्म पुगेको छ।

त्यस्तै, कुल बाह्य दायित्व र मूर्त खुद सम्पत्तिको अनुपात पनि बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा १.१ गुणा रहेको यो अनुपात २०८०/८१ मा २.१ गुणासम्म पुगेको थियो। २०८१/८२ मा केही घटेर १.५ गुणामा आए पनि चालु आर्थिक वर्षको पहिलो नौ महिनामा फेरि बढेर २.७ गुणा पुगेको छ।

ब्याज तिर्न सक्ने कम्पनीको क्षमता पनि उतारचढावपूर्ण देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ब्याज भुक्तानी क्षमता ०.६ गुणामा झरेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने यो सुधार हुँदै ५ गुणासम्म पुगेको छ।

ऋण भुक्तानी सेवा क्षमता पनि स्थिर देखिँदैन। आर्थिक वर्ष २०७९/८० मा यो ०.१ गुणा, २०८०/८१ मा २.४ गुणा, २०८१/८२ मा ०.५ गुणा रहेको थियो। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भने यो बढेर ४.६ गुणासम्म पुगेको देखिन्छ।

सन् १९९९ मा साझेदारी फर्मका रूपमा स्थापना भएको सिद्धार्थ आयल इन्डस्ट्रिजले ‘तेज’ ब्रान्डमार्फत तोरीको खानेतेल उत्पादन गर्दै आएको छ। उद्योगले अस्ट्रेलिया, क्यानडा र युक्रेनबाट तोरी आयात गरी त्यसबाट तयार उत्पादन तथा सह–उत्पादन नेपाल र भारतका बजारमा बिक्री गर्दै आएको छ। कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीको सिद्धार्थनगरमा रहेको छ भने उत्पादन केन्द्र रुपन्देहीकै गुरवानियामा सञ्चालनमा छ।

उद्योग तीन साझेदारको स्वामित्वमा रहेको छ। जगदीश कुमार अग्रवालको ३० प्रतिशत, राजेश कुमार अग्रवालको ४० प्रतिशत तथा श्याम सुन्दर अग्रवालको ३० प्रतिशत स्वामित्व रहेको कम्पनीले एकातिर अर्बौं रुपैयाँको व्यापार गरिरहेको छ भने अर्कोतर्फ गुणस्तरहीन उत्पादनका कारण सरकारी कारबाही, अस्थिर नाफा, बढ्दो ऋणभार र वित्तीय दबाबसँग पनि जुधिरहेको तथ्य सार्वजनिक विवरणबाट देखिएको छ।

इक्रा नेपालले  सिद्धार्थ आयल इन्डस्ट्रिजको दीर्घकालीन तथा अल्पकालीन कर्जा मूल्याङ्कन यथावत् कायम गरिएको छ।  दीर्घकालीन कर्जा सीमाको मूल्याङ्कन ‘एलबीबी माइनस’ र अल्पकालीन कर्जा सीमाको मूल्याङ्कन ‘ए फोर’ स्तरमै पुनः पुष्टि गरेको हो। मूल्याङ्कनअनुसार कम्पनीको ३७ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जा सीमा र १ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमा यथावत् रहेको छ। यससँगै कम्पनीको कुल कर्जा सीमा १ अर्ब ११ करोड ४० लाख रुपैयाँ कायम रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*