व्यवसायीसँग बालेनको पहिलो संवाद: ‘अर्थतन्त्रको ड्राइभिङ सिटमा निजी क्षेत्र राख्छौं, धरपकड गर्ने उद्देश्य छैन’

२४ असार २०८३, बुधबार १४:४७

काठमाडौं । बालेन शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग औपचारिक छलफल गरेका छन्। सरकारका पछिल्ला कदमप्रति उद्योगी–व्यवसायीबाट चर्को असन्तुष्टि र चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा लामो छलफल गरेका हुन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा पदाधिकारी सहभागी थिए। प्रधानमन्त्री शाह गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएदेखि नै निजी क्षेत्रसँग प्रत्यक्ष संवाद नगरेको भन्दै आलोचना हुँदै आएको थियो।

बैठकपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीसँग नेपालको अर्थतन्त्र, निजी क्षेत्रको मनोबल र लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार लामो समयदेखि देखिएको व्यवसायिक वातावरण, उद्योग–व्यवसायमा देखिएका चुनौती, सरकारले आगामी दिनमा अवलम्बन गर्ने आर्थिक तथा औद्योगिक नीति, व्यवसायीका गुनासा तथा लगानीमैत्री वातावरण निर्माण र सहजीकरणका उपायबारे विस्तृत रूपमा छलफल भएको बताए ।

अग्रवालले भने, ‘पहिलो पटक निजी क्षेत्रका तीनवटा संस्थाका अध्यक्ष र पदाधिकारीसहित आज धेरै लामो छलफल भएको हो। समग्र छलफल नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने, अहिले देखिएको आर्थिक शिथिलताको अन्त्य कसरी गर्ने, निजी क्षेत्रको मनोबल कसरी बढाउने र के–के कारणले निजी क्षेत्रको मनोबल खस्किएको छ, ती विषयलाई कसरी समाधान गर्ने भन्नेमा केन्द्रित थियो।’

शाहले निजि क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने तर्क राखेको अग्रवालले बताए ।  ‘प्रधानमन्त्रीले निजी क्षेत्रका सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। निजी क्षेत्रका धेरै विषय अगाडि बढाइसकेका पनि छौँ। हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो। अहिलेसम्म जे–जस्तो भयो, अब अन्तरक्रियालाई निरन्तरता दिनेछौँ। निजी क्षेत्रले उठाएका समग्र विषय आएमा त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ। निजी क्षेत्रको मनोबल बढाउन प्रधानमन्त्रीले धेरै प्रोत्साहन गर्नुभएको छ” उनले भने ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले विगतका कमजोरीका कारण नेपालको अर्थतन्त्र अपेक्षाअनुसार अघि बढ्न नसकेको उल्लेख गर्दै देशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि स्रोत–साधनको प्रभावकारी उपयोग हुन नसकेको, अर्थतन्त्र शिथिल अवस्थामा रहेको तथा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताए। सबै क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै आर्थिक समृद्धि हासिल गर्नु नै सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले सरकारले आगामी पाँच वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रलाई समस्या भएका विषय खुलस्त रूपमा सरकारसमक्ष राख्न आग्रह गरे। उनले निजी क्षेत्रको सक्रिय सहभागिताबिनाको आर्थिक विकास सम्भव नरहेको भन्दै सरकार र निजी क्षेत्रबीच नियमित संवादलाई निरन्तरता दिइने बताए।

त्यसैगरी प्रधानमन्त्री शाहले उद्यमी–व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पारे। ‘उद्यम व्यवसायलाई धरपकड गरेर देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन’ उनले भने।

व्यवसायीहरूले पक्राउ परे पनि अदालतबाट दोषी प्रमाणित नभएसम्म अग्रिम जमानतमा छाड्ने व्यवस्था हुनुपर्ने धारणा पनि राखे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*